ब्रान्ड एम्बेसडर बन्दा खेलाडीलाई आर्थिक र सामाजिक रुपमा फाइदा

पुस २५, २०८० | काठमाडौं

विश्वका चर्चित खेलाडीहरुले विभिन्न कम्पनीको ब्राण्ड एम्बेस्डर बनेर राम्रो आम्दानी गर्ने गरेका छन् । फुटबल, क्रिकेट, टेनिसलगायत अन्य खेलका उत्कृष्ट खेलाडीहरुले ब्राण्डको प्रचार गरेरै व्यावसायिक पक्ष बलियो बनाउने गरेको उदाहरण पाइन्छ । नेपालमा पनि पछिल्लो समय विभिन्न खेलका खेलाडी व्यावसायिक कम्पनीहरुको ब्राण्ड एमबेस्डर बन्ने ट्रेन चलेको छ । जसले गर्दा खेलाडीको आर्थिक जीवनमा केही सहजता ल्याएको छ । साथै उनीहरुलाई सार्वजनिक व्यक्तित्वका रुपमा स्थापित हुन समेत सहयोग पुगेको छ ।

विश्व टेनिस जगतका स्टार रोजर फेडेरर उच्च ब्राण्ड मूल्य भएको खेलाडी मध्ये एक मानिन्छन् । फेडेररले पास्ता ब्रान्ड ब्यारिल्लासँग गरेको पछिल्लो पाँच वर्षे सम्झौता मात्र हेर्ने हो भने करिब ४० मिलियन अमेरिकन डलर कमाउने गर्छन् । त्यस्तै, एट्लेटिक्स खेलाडी उसैन सेन्ट लियो बोल्टको हाल ब्राण्ड मूल्य २७ मिलियन अमेरिकी डलर छ । बोल्टलाई पुमा व्यान्डले मात्रै सन् २०२५ सम्म वार्षिक १० मिलियन डलर दिने सम्झौता त्यसबेला गरेको थियो । यी दुईमात्र होइनन् विश्व फुटबल जगतका स्टार खेलाडी क्रिस्टीयानो रोनाल्डो, लियोनल मेस्सी, बाज्रिलियन फरवार्ड नेमार पनि ब्राण्ड मूल्य मार्फत राम्रो आम्दानी गर्ने खेलाडीको सूचीमा पर्छन् । भारतिय क्रिकेट खेलाडी विराट कोहली, सचिन तेन्दुलकरदेखि महिला टेनिस स्टार सानिया मिर्जा यो सूचिमा अटाउँछन् । नेपालका केही खेलाडीले पनि पछिल्लो समय ब्राण्डको प्रचार गरेर आम्दानी गर्ने गरेका छन् । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का, राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल ब्राण्ड मार्फत आम्दानी गर्ने केही नाम हुन् । खड्काले नेपाल टेलिकम, एक्सर्पट एजुकेशन र महेन्द्रा नेपाल लगायतका ब्राण्डको प्रचार गर्छन् । उनी यी ब्राण्डका ब्राण्ड एम्बेस्डर हुन् । त्यस्तै, पौडेल ई सेवा, जेनेरेशन नेक्स्ट लगायतका ब्राण्ड एम्बेस्डर हुन् भने ऐरी ईसेवा मनिट्रान्सफर मेरो डिजिटल ड्रेस र भूत्र्तेलले फोन पेको ब्राण्ड एम्बेस्डर बन्ने मौका पाएका छन् । खेलेर खान पुग्दैन भन्ने छवी बनेको नेपाल जस्तो राष्ट्रमा खेलाडीको सेवा सुविधा कम छ । सेवा सुविधा कम भएपनि यस्ता व्यवसायीक अनुबन्धनबाट आफूहरुको आर्थिक पक्ष सबल भएको खेलाडीहरु बताउँछन् । सरकारले राम्रो सेवा सुविधा नदिएपनि केही व्यावसायीक कम्पनीले ब्राण्ड एम्बेस्डर बनाउँदा आर्थिक पक्षमा केही सहज भएको राष्ट्रिय क्रिकेट टिमका खेलाडी करण केसीले बताए ।

क्रिकेट मात्र होइन राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङ, फरवार्ड अन्जन विष्ट र राष्ट्रिय महिला टिमका खेलाडी एन्जीला तुम्बापो सुब्बा पनि ब्राण्डको एम्बेस्डर बनिसकेका छन् । त्यस्तै, टेनिस खेलाडी आर्यन गिरी, महिला गल्फर प्रतिमा शेर्पा, पुरुष गल्फर शुक्रबहादुर राई, ब्याडमिन्टनका प्रिन्स दाहाल, म्याराथनमा मिरा राईलाई पनि विभिन्न व्यावसायिक कम्पनीहरुले आफुसँग जोडिसकेका छन् । कम्पनीहरुले ब्राण्ड एम्बेस्डर बनाउँदा खेलाडीले पैसा मात्र नभइ नामसमेत कमाउने गरेको राष्ट्रिय भलिबल टिमकी स्पाइकर प्रतिभा मालीको भनाई छ ।

व्यवसायीक कम्पनीहरुले खेलाडीमाथि लगानी त्यसै भने पक्कै गरेका होइनन् । खेलाडीमाथि लगानी गर्दा उनीहरुलाई राम्रो प्रर्दशन गर्न हौसला र प्रेरणा समेत मिल्ने सरोकारवाला बताउँछन् । साथै खेलाडीहरुलाई आफ्नो ब्राण्डमा समावेश गर्दा आफ्नो समेत व्यवसाय प्रबद्र्धन भईरहेकाले दुवै पक्षलाई फाइदा मिलेको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारी बताउँछन् ।

कुनै पनि क्षेत्रको आर्थिक पक्ष सबल भयो भने सो क्षेत्रको उन्नयन पक्कै हुने गर्छ । दिनहुँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका खेलाडी आर्थिक पक्षलाई कारण देखाएर पलायन भईरहेको अवस्थामा त्यस्ता ब्राण्ड एम्बेस्डर ट्रन्डले व्यवसायीकता ल्याउने र खेलकुदलाई समेत फाइदा हुने खेलसम्वद्ध व्यक्तिहरुको भनाइ छ । कम्पनीहरुले खेलाडीलाई विश्वास गरेर पहिलैदेखि लगानी गर्दै आएको भए अहिले नेपाली खेलको सम्रग अवस्था धेरै उच्च स्तरमा पुग्ने राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पवन अग्रवालले बताए ।

केही समय अघि नेपाली फुटबल जगतका स्टार खेलाडी विमल घर्ती मगरसँगै दर्जन बढी खेलाडी पलायन भईसकेका छन् । फुटबल मात्रै होइन नेपाली क्रिकेटको हविगत पनि उस्तै छ । फुटबल र क्रिकेट बाहेक अन्य खेलका खेलाडीको अवस्था झनै दयनीय छ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेतासमेत विदेशिने सूचिमा छन् । यसरी खेलाडीको बाहिरिने संख्या रोक्न र खेलको स्तर उकास्न खेलाडीहरुलाई तलब सुविधासँगै अन्य व्यवसायीक रुपमा प्रोत्साहन गर्न आवश्यक भएको तर्क सम्बद्ध अधिकारीहरुको छ । 


प्रतिक्रिया