एन्फा आन्तरिक विवाद मै रुमलियो

माघ १४, २०८० | काठमाडौं

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघको नयाँ कार्यसमिती चयन भएको १९ महिना पूरा भयो । एन्फाको वर्तमान नेतृत्व २०७९ साल असारमा निर्वाचित भएर आएको हो । त्यसयता एन्फा नेतृत्वको अधिकांश समय फुटबल विकासमा भन्दा पनि विवादमै बितेको छ । स–साना विषयमा पनि एन्फाका पदाधिकारीबीच सहमति जुट्न सकेको देखिँदैन । प्रतियोगिता, पुरस्कार, प्रशिक्षणजस्ता गतिविधिमा खासै प्रभावकारी नदेखिएको एन्फाको वर्तमान नेतृत्वले तीन महिना पनि नबित्दै दोस्रो विशेष साधारण सभा गरेको छ ।

तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराएर २०७९ साल असार ६ गते एन्फा नेतृत्वमा आएका पंकजविक्रम नेम्वाङले वर्ष दिन पुुग्दा नपुग्दै अविश्वासको प्रस्ताव फेस गर्नुपर्यो । पदाधिकारीको शपथकै दिन विना एजेन्डा महासचिव र कोषाध्यक्ष नियुक्ति गरेपछि असन्तुष्टि सुरु भयो । त्यही बढ्दै गएपछि निवर्तमान अध्यक्ष शेर्पाकै अगुवाइमा बहुमत सदस्यले १९ वटा आरोपसहित अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको मागसहित एन्फामा निवेदन दिए । एन्फाको इतिहासमा अविश्वास प्रस्ताव फेस गर्ने उनी पहिलो अध्यक्ष हुन् । अध्यक्ष नियुक्त भएपछि धेरै काम गर्ने योजना सुनाए पनि सुरुदेखि नै नेम्वाङले त्यो अनुसार काम गर्न सकेनन् । प्रतियोगिता, प्रशिक्षणजस्ता गतिविधिमा सक्रिय हुनुपर्ने एन्फा नेतृत्व पछिल्लो समय आपसी द्वन्द्वमा अल्झिएर बसेको छ । यसको प्रत्यक्ष असर खेल र खेलाडीमा परेको छ । एन्फाले बढीभन्दा बढी कार्यक्रम समेट्दै खेलाडीलाई व्यस्त राखे पलायनको बाटो रोज्न नर्पने मच्छिन्द्र फुटबल क्लबका खेलाडी अभिषेक गुरुङ बताउँछन् ।

एन्फाको नयाँ कार्यसमिति आएपछि साफ महिला च्याम्पियनसिप, बंगलादेश र पाकिस्तानसँग मैत्रीपूर्ण खेल, प्रधानमन्त्री थ्री नेसन्स कप, महिला ओलम्पिक फुटबल छनोटमा समूह चरणको खेल आयोजना भयो । उमेर समूहमा नेपालको पुरुष र महिला टिम केही अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भयो । नेपाली टिमले साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि पनि जित्यो । एन्फाले गत वर्ष आयोजना गरेको शहीद स्मारक ए डिभिजन लिग जसोतसो सम्पन्न भयो । फुटवलकर्मीहरुले नै लिग गरेको जस लिन मात्र ८ डिभिजन आयोजना गरिएको भन्दै एन्फाको आलोचना गरे । हुन पनि ए डिभिजन लिगमा फुटबल माहोल खासै देखिएन भने दर्शकको उपस्थिति न्यून रह्यो । घरेलु फुटबलको मेरुदण्ड मानिएको ए डिभिजन लिग यस वर्ष हुने नहुने टुंगो छैन । वर्तमान नेतृत्वको एन्फा कार्यसमिति कामभन्दा धेरै विवादमा फसेको छ । एन्फामा अहिले निर्वाचित भएका र मनोनित गरी २४ जनाभन्दा बढी पदाधिकारी छन् । एन्फा पदाधिकारीहरु सेवा सुविधा र पद भागवण्डामा अल्झिँदा फुटबलका गतिविधि भने प्रभावित भएको छ । नियमित कार्यक्रमहरु साधारण सभाबाटै अनुमोदन गर्नु पर्ने एन्फाका प्रवक्ता सुरेश शाहले बताए । बजेट अनुमोदन तथा प्रस्ताव गर्न साधारण सभा नै कुर्ने पर्ने उनको भनाई छ ।

वर्तमान एन्फा नेतृत्व स–साना विषयको निर्णय पनि विशेष साधारण सभाबाट गराउन उद्धत देखिन्छ । तर, यसरी हरेक विषयका लागि साधारण सभा बोलाउँदा प्रतियोगिता, प्रशिक्षण र पुरस्कारजस्ता विषयमा खर्च गर्नुपर्ने ठुलो रकम अनावश्यक कार्यमा खर्च भइरहेको भन्दै विरोध भएका छन् । त्यस्तै लाखौं बजेट साधारण सभामा खर्चेर खेलाडीलाई दिनुपर्ने पुरस्कार, क्लबलाई दिनुपर्ने रकम नदिएको एन्फाले वार्षिक क्यालेन्डर समेत बनाउन सकेको छैन । एन्फाको आन्तरिक विवादका कारण नेपाली फुटबल घेरावन्दीमा पारेको एन्फाका धनकुटा जिल्ला प्रतिनिधि मणि चेम्जोङको भनाई छ । आगामी फागुनमा हुने नियमित साधारण सभामा जिल्ला प्रतियोगिताका विषयमा कुरा राख्ने उनले बताए ।

एन्फा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्तावमा निर्णय गर्ने गरि एक मात्र एजेण्डामा गत कात्तिक २३ मा विशेष साधारण सभा भएको थियो । त्यस पश्चात यहि माघ ८ मा पनि एउटै मात्र एजेण्डा लेखा परिक्षक नियुक्तीको विषयमा विशेष साधारण सभा भयो । अब आगामी फागुन १४ मा एन्फाको नियमित साधारण सभा हुँदैछ । यसरी हेर्दा नयाँ कार्यसमिति चयन भएयता विशेष र नियमित गरी ३ वटा साधारण सभा हुने भएको छ । फिफा र एएफसीको अनुदानबाट चल्ने एन्फाले कात्र्तिकमा भएको विशेष साधारण सभामा ४४ लाख रुपैयाँ भन्दा बढी खर्च गरेको थियो । भने माघमा भएको विशेष साधारण सभामा ४३ लाख भन्दा बढी खर्च गरेको छ । घरेलु लिग, उमेर समूहका प्रतियोगिता लगायत अन्य प्रतियोगिता गर्न बजेट छैन भन्ने गरेको एन्फाको नेतृत्वले साधारण सभाप्रति देखाएको रुचि र लगावले उल्टै संघको विश्वसनीयता घटाउँदै लगेको फुटवलकर्मीको भनाइ छ ।


प्रतिक्रिया