बैंक वित्तीय संस्थामा हुने कारोबार पछिल्लो समय डिजिटलमय बन्दै

माघ २३, २०८० | काठमाडौं

बैंक वित्तीय क्षेत्रमा हुने कारोबार पछिल्लो समय डिजिटलमय हुदै गएको छ । बैंकिङ कारोबारमा डिजिटल उपकरणहरु थपिँदै जानु तथा स्मार्ट फोन र इन्टरनेट प्रयोगकर्ताको संख्या बढेसँगै डिजिटल कारोबारमा पनि उल्लेख्य वृद्धि भएको हो । डिजिटल उपकरणहरु मध्ये क्विक रेस्पोन्स (क्यूआर), मोबाइल बैंकिङ, वाटेल, कनेक्ट आईपीएस लगायतमा सेवाग्राहीको आकर्षण बढ्दो छ । जुनसुकै बेला सहज रुपमा सेवा उपलब्ध हुने र समयको बचत हुने हुँदा यस प्रतिको आकषर्ण बढ्दै गएको हो । डिजिटल कारोबार गर्ने सजिलो तरिका भए पनि सुरक्षा चुनौती उत्तिकै छ ।

इन्टरनेटको पहुँच वृद्धि भएसंगै बैंक वित्तीय संस्थामा डिजिटल कारोबार बढ्न थालेको हो । जस्ले भौतिक उपस्थितीलाई कम गराउँदै लगेको छ । क्विक रेस्पोन्स क्यूआर, वाटेल, कनेक्ट आईपीएस जस्ता एप्लिकेसनले वित्तीय कारोबारलाई सहज बनाईरहेको छ र पछिल्लो समय यस्ता सुविधा लिनेको संख्या पनि उच्च हुन थालेको छ । नगदको प्रयोग नगरी विभिन्न डिजिटल भुक्तानीका उपकरण प्रयोगबाट गरिने कारोबारलाई डिजिटल पेमेन्ट अर्थात विद्युतीय कारोबार पनि भनिन्छ । कारोबार गर्न सजिलो भएकाले धेरैले यसको प्रयोग गर्ने गर्छन् । यद्यपी नेपालमा भने डिजिटल कारोबार कोरोनाकालमा उल्लेख्य बढेको थियो । नोटबाट कोरोना सर्ने सम्भावना बढेको भन्दै डिजिटल कारोबारलाई प्रोत्साहन गरिएको थियो । पछिल्लो समय मोबाइल बैंकिङका लागि विभिन्न एप कम्पनीले आकर्षक सुविधा उपलब्ध गराउँदै आएका छन् । मोबाइल बैंकिङ प्रयोग गर्नेहरूको संख्या पछिल्लो समय बढ्न थालेको राष्ट्र बैंकका उपसुचना अधिकारी भागवत आचार्य बताउँछन् ।

नेपालमा स्ट्यान्डर्ड चाटर्ड बैंकले पहिलो पटक सन् २००५ मा मोबाइल बैंकिङको सुरुवात गरेको थियो । सो बैंकले सुरुवाती समयमा एसएमएस बैंकिङका रूपमा खाताबारे जानकारी गराउने सुविधा समेत ल्याएको थियो । टेलिफोन रिचार्ज गर्नदेखि प्लेनको टिकट काट्न, स्कुल÷कलेजको फिस, बिजुलीको बिल तिर्नेदेखि लिएर हरेक कारोबार अहिले मोवाईल बैङिङबाटै हुने गरेको छ । अथार्त सम्पुर्ण कारोबार हातैबाट हुने गरेको छ । मोबाइल बैंकिङ प्रयोग गर्नेहरूको संख्या बढ्दै गएपनि आम नागरिकको सहज पहुँच भने हुन नसकेको प्रयोकर्ता सुमन गजमेरले बताए । डिजिटल पेमेन्टका कारण कहिलेकाँही अफ्ठेरोमा समेत परेको उनी बताउँछन् ।

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या अहिले २ करोड २६ लाख २४ हजार पुगिसकेको छ । त्यस्तै, गत मंसिर मसान्तसम्मको तथ्यांक अनुसार इन्टरनेट बैंकिङ प्रयोगकर्ता १७ लाख ८८ हजार, वालेट प्रयोगकर्ता २ करोड ८ लाख भन्दा बढी रहेको राष्ट्र बैंकले जनाएको छ । अहिले १ करोड २६ लाख डेबिट कार्ड, ३ लाख ३ हजार क्रेडिट कार्ड र १ लाख ५६ हजार प्रिपेड कार्ड प्रयोगमा छन् । यस्तै कनेक्ट आईपीएस प्रयोगकर्ताहरू ११ लाख ८२ हजार छन् । संख्यात्मक रूपमा प्रयोगकर्ताको वृद्धि भए पनि डिजिटल वालेटको महत्व र सहजता थाहा नपएका कारणले अझै पनि केही मानिस यससँग जोडिन सकेका छैनन् । बैंकिङ शिक्षा र प्रयोग गर्ने तरिका थाहा नभएका कारण ग्राहकहरू डिजिटल पेमेन्टको समस्या लिएर बैंकमा धाउने गरेको पाइछन् । धेरै जसो युवा वर्गले डिजिटल पेमेन्ट प्रयोग गर्ने हुँदा गुनासो निकै कम आउने गरेको लक्ष्मी सनराइज बैंकका हेड कार्ड सर्भिसेस मनोज घिमिरेले बताए ।

डिजिटल कारोबारले आर्थिक पारदर्शिता कायम गर्ने राज्यको नीतिलाई पनि सहयोग गर्छ । तर अर्को तर्फ कारोबार सरक्षित हुनेमा आम नागरिक विश्वस्त हुन सकेको अवस्था छैन । डिजिटल कारोबारलाई प्रविधिको दृष्टिकोणले पनि सुरक्षित बनाउनुपर्ने अर्थविद् डा चन्द्रमणी अधिकारी बताउँछन् ।

शहरी क्षेत्रमा डिजिटल कारोबार बढेपनि गाणिम क्षेत्रमा भने यसको पहुँच सहज भईसकेको छैन । स्थानीय तहमा पनि डिजिटल पहुँच बढाउन सकियो भने ग्रामिण अर्थतन्त्रको विकासमा टेवा पुग्न सक्ने विश्लेषकहरु बताउँछन । रेमिट्यान्स घरमै पुग्ने वातावरण, सामाजिक सुरक्षा भत्ता, स्थानीय कृषि उपजका लागि सहज बजार र मुल्य जस्ता विषयमा पनि डिजिटल माध्यमले ठूलो सहयोग गर्ने अपेक्षा गर्न सकिन्छ । तर आपराधिक व्यक्ति तथा गिरोहले सोझा मानिसहरूलाई फकाएर, झुक्याएर वा प्रलोभनमा पारेर उनीहरूको डिजिटल भुक्तानीका उपकरणहरू र बैंक खातामा समेत पहुँच पु¥याई आर्थिक क्षति गराउने जोमिख पनि उत्तिकै देखिन्छ । यसका लागि आफ्नो व्यक्तिगत विवरणहरू, पासवर्ड, पिन नम्बर, ओटिपी नम्बर, कार्ड नम्बर जस्ता संवेदनशील सूचनाहरू गोप्य राख्नुपर्छ ।


प्रतिक्रिया