लगातारको सफलतापछि नेपाली क्रिकेटको माहोल विस्तार

फाल्गुन ३, २०८० | काठमाडौं

पछिल्ला दिनमा पाएको सफलतापछि नेपालमा यतिवेला क्रिकेटको माहोल छ । पुरुष क्रिकेटतर्फ नेपाली टोलीले घरेलु मैदानमा एकदिवसीय सिरिज क्लिन स्वीप गरेको छ भने महिला टोली मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । क्रिकेटर रुविना क्षेत्रीले अन्तराष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो महिला खेलाडीको इतिहास समेत बनाएकी छन् । यिनै सफलताको सेरोफेरोमा नेपाली क्रिकेटप्रेमीको ध्यान राष्ट्रिय टोलीको प्रदर्शनमा केन्द्रित भएको छ । यही क्रममा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै आईसीसी विश्वकप क्रिकेट लिग–टू सिरिजको शुरुवात बिहिबारबाट गर्दैछ । नेपाल नामिबिया र नेदरल्यान्ड्सलाई हराउँदै सन् २०२७ विश्वकप आफ्नो दाबेदारी पेश गर्न चाहान्छ । त्यसमाथि यो प्रतियोगिताले नेपाली क्रिकेटको भविष्य निर्धारण गर्ने विश्लेषण समेत भइरहेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पाएको पछिल्लो सफलताबाट क्रिकेट प्रेमी उत्साहित छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सन् २०१९ देखि २०२२ सम्म आयोजना गरेको क्रिकेट वल्र्डकप लिग टू का अन्तिम १२ मध्ये ११ खेल जितेर नेपालले सन् २०२२ मा आफ्नो एकदिवसीय मान्यता त जोगायो । तर गत वर्ष भारतमा भएको विश्वकपमा नेपाल छनोट भने हुन सकेन । एकदिवसीय मान्यता कै आधारमा नेपालले सन् २०२७ मा हुने विश्वकपका लागि सीडब्लूसी लिग टू का खेलहरु खेल्दै छन् । राष्ट्रिय क्रिकेट टोली पछिल्लो समय निखारिएको प्रर्दशन गर्दै आएको छ । नेपालले सन् २०२३ को एसिया कपमा इण्डियासँग गरेको प्रदर्शन पनि प्रशंसा योग्य रह्यो । क्रिकेटमा तीन पटक विश्व जितेको इण्डियाको त्यस खेल अझै नेपाली समर्थकको मानसपटलमा ताजै छ । हालै क्यानडाविरुद्धको तीन ओडीआई सिरिजमा क्लिन स्विप गरेपछि नेपाली क्रिकेटको चर्चाले अझै शिखर चुमेको छ । क्रिकेटमा एक पछि अर्को सफलता हात पार्दा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल उत्साहित देखिए ।

सन् २०१९ मा भएको लिग–टू मा सात टोली सहभागी भएपनि यसपटक आठ टोलीले लिग–टू खेल्दैछन् । नेपालसहित नामिबिया, नेदरल्यान्ड्स, स्कटल्यान्ड, ओमान, यूएई, क्यानडा र अमेरिकाले लिग–टू मा प्रतिस्पर्धा गर्नेछन् । हरेक टोलीले ३६ खेल खेल्नेछन् । तीन वर्षसम्म चल्ने लिग–टू का शीर्ष चार टोली सिधै विश्वकपका लागि छनोट हुनेछन् । पुछारका चार टोलीले भने प्ले अफ खेल्नु पर्ने हुन्छ । तर, होम एण्ड अवे फरम्याटमा हुने प्रतियोगिता नेपालका लागि सोचे जस्तो सजिलो भने पक्कै हुनेछैन । अहिलेको तयारी अनुसार नेपाली टोलीले जस्तो पनि चुनौती सामना गर्न सक्छ भन्नेमा ढुक्क देखिन्छन् टोलीका ब्याट्सम्यान भिम सार्की ।

नेपाली टोलीले एकदिवसीय विश्वकप खेल्दै टेष्ट राष्ट्र बन्ने सपना बुनेको छ । यो सपना अघि थुप्रै चुनौती पनि छन् । एकदिवसीय मान्यता प्राप्त नेपाल विश्वकप खेल्दै टेष्ट राष्ट्रका रुपमा आफूलाई उभ्याउनु नेपालका लागि अहिले चुनौती भएको क्रिकेटका जानकारहरु बताउँछन् । चुनौतीलाई अवसरमा बदल्नु नेपालको आवश्यक्ता रहेको तर्क गर्छन् क्रिकेट जानकारहरु । दुई वर्ष अघिसम्म एकदिवसीय मान्यता जोगाउनेमा शंका गरिएको टोली अहिले टेष्ट राष्ट्र बन्ने तर्फ लम्किरहेको छ । दुई वर्ष अघिको नेपाली क्रिकेट टोली र वर्तमान टोलीमा धेरै परिवर्तन आएको बताउँछन् राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक जगत टमाटा ।

पछिल्लो समय सफलताको कथा लेखेको नेपालसँग टेस्ट मान्यता प्राप्त वेष्टइन्डिज, आयरल्यान्ड, इण्डिया र पाकिस्तानसँग खेलेको अनुभव छ । अनुभवलाई प्रतिफलमा परिणत गर्न तथा खेलाडीका प्रतिभा प्रस्फुटन गर्ने व्यवस्था क्यानले मिलाउनु पर्ने तर्क पूर्व खेलाडीहरुको छ । नेपाली क्रिकेटले देखेको एकदिवसीय विश्वकप र टेस्टको सपना पूरा गर्न क्यानको भूमिका महत्वपूर्ण हुने तर्क गर्छन् राष्ट्रिय टिमका पूर्वकप्तान एलबी क्षेत्री ।

यता, क्रिकेटको नियामक निकाय नेपाल क्रिकेट संघ नेपाली क्रिकेट अहिले आफ्नो स्वर्णिम युगमा भएको तर्क गर्छ । सीडब्लूसी लिग–टू २०२७ को विश्वकपको सिँढी भएको क्यानको बुझाइ छ । नेपाली क्रिकेटको क्षमतामा समर्थक जस्तै क्यान पनि ढुक्क देखिन्छ । अहिले क्यान सन् २०२७ मा हुने एकदिवसीय विश्वकपमा नेपालको सहभागिता सुनिश्चत गर्न लागिपरेको बताउँछन् क्यानका अध्यक्ष चतुरबहादुर चन्द ।

विश्वकप लिग–टू मा कुल २४ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला हुनेछन् । हरेक त्रिकोणात्मक श्रृंखलामा एउटा टोलीले प्रत्येकसँग २÷२ खेल खेल्नेछन् । आईसीसीका अनुसार विश्वकप लिग–टू मा कुल १ सय ४४ खेल हुनेछन् ।


प्रतिक्रिया