अफ्रिका कप अफ नेसन्सको उपाधि आइभरीकोस्टलाई

फाल्गुन ६, २०८० | काठमाडौं

अन्तराष्ट्रिय फुटवल जगत्मा यतिखेर अफ्रिका कप अफ नेसन्स फुटबलको उपाधि विजेता आइभोरी कोस्टको चर्चा भइरहेको छ । घरेलु मैदानमा गत आइतबार भएको फाइनल खेलमा नाइजेरियालाई २–१ गोल अन्तरले पराजित गर्दै आइभोरी कोस्टले तेस्रो पटक उपाधि हात पारेको हो । फुटवलमा पाएको यो सफलतासँग देशभित्रको गृहयुद्ध रोक्न सफल भएको कथा समेत जोडिएको छ ।

अफ्रिका कप अफ नेसन्स अफ्रिका महादेशमा हुने प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यसको पहिलो संस्करण सन् १९५७ मा भएको थियो । पहिलो संस्करणमा इजिप्ट, इथियोपिया र सुडान गरि मात्र तीन टिम समावेश भएको प्रतियोगिता हाल अफ्रिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताका रुपमा स्थापित भएको छ । अफ्रिका कप अफ नेसन्समा हाल २४ देशले सहभागिता जनाउँदै आएका छन् ।

अफ्रिकी फुटबलको सर्वोच्च निकाय कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (सी.ए.एफ) को आयोजनामा हुने अफ्रिका कप अफ नेसन्स अहिलेसम्म ३४ पटक आयोजना भएको छ । यसको उपाधि हालसम्म १४ देशले जितेका छन् । 

अफ्रिका कप अफ नेसन्सको विजेताको सूचीमा इजिप्ट सबैभन्दा सफल टोली हो । उसले सन् २००६ र २०१० को बीचमा ह्याट्रिक सहित सात पटक उपाधि जितेको छ । यस्तै, क्यामरुन अफ्रिका कप अफ नेसन्सको पाँच पटक उपाधि जित्ने दोस्रो सफल टोली हो । 

यस्तै, आईभरी कोस्टले यस प्रतियोगिताको उपाधि तेस्रो पटक जितेको छ । यसअघि आइभरीकोस्टले सन् १९९२ र २०१५ मा पनि अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको थियो । सन् २००६ यता आफ्नो घरेलु मैदानमा यो उपाधि जित्ने आइभरी कोस्ट पहिलो टिम समेत भएको छ । 

आईभरी कोस्टले फिफा विश्व फुटबलमा तीन संस्करण खेलिसकेको छ, तर सन् २००६ मा जर्मनीमा भएको विश्वकप उसका लागि निकै विशेष रह्यो । विश्वकप छनोटका लागि भएको निर्णायक खेल जितेपछि टोलीका खेलाडीले गरेको आव्हानपछि आइभोरी कोस्ट गृहयुद्ध समेत रोक्न सफल भयो । आइभरीकोस्टका कप्तान डिडियर ड्रोग्बा लगायत सबै खेलाडीले घुँडा टेकेर युद्ध रोक्न आग्रह गरेका थिए । उनीहरुको यही आग्रहले सन् २००२ देखि जारी गृह युद्ध अन्त्य भएको पाइन्छ ।

त्यति नै बेला आइभारीकोस्टको टिमले डिडिएर ड्रोग्बादेखि कोलो टोरे, याया टोरे, इमानुल इबोइ जस्ता खेलाडी जन्माएको थियो । यही पृष्ठभूमिमा सन् १९८४ यता पहिलो पटक पश्चिम अफ्रिकी देश आइभरीकोस्टमा अफ्रिकी कप अफ नेसन्स आयोजना भएको हो ।

गत जनवरी १३ बाट सुरु भएको प्रतियोगिताको विजेता आयोजक आईभरी कोस्टले उपाधिसँगै ७ मिलियन डलर प्राप्त गरेको छ । हात्ति टीमको उपमा पाएको आइभोरी कोस्टले प्रतियोगिता जितेर अर्को इतिहास बनायो । 


प्रतिक्रिया