सधैंका लागि अस्ताए भक्तराज आचार्य

फाल्गुन १५, २०८० | काठमाडौं

भजनशिरोमणिको उपमा पाएका गायक एवम् संगीतकार भक्तराज आचार्यको अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा आचार्यको अन्त्येष्टि गरिएको हो । यसअघि उनको पार्थिव शरीरलाईश्रद्धाञ्जलीका लागि काठमाडौंको सानो गौचरणस्थित संगित तथा नाट्य एकेडेमीमा राखिएको थियो । एकेडेमीमा उहाँलाई श्रद्धान्जली दिन कलाकार, संगीतकर्मी र प्रशंसकसहित समाजका विभिन्न तह र तप्का व्यक्तिहरुको घुँइचो लागेको थियो । यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कंग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायत नेताले आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

नकुलकाजीको शब्द र आफ्नै संगीतमा भक्तराज आचार्यको औपचारिक गायकी यात्रा २०३० सालबाट शुरु भएको पाइन्छ । १९९९ सालमा धनकुटाको चौबिसे गाउँपालिका ४ स्थित कुरुले तेनुपाको गैरीगाउँमा बुवा बलभद्र आचार्य र आमा रेनु आर्चायको कोखबाट भक्तराजको जन्म भएको थियो ।

२०२० सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गरेका आचार्यलाई हार्मोनियम, तबला र गितारको नशाले कहिल्यै छोडेन । स्वर परिक्षा पास गरि भारत गएका उनी १० वर्षपछि नेपाल आए र यतै बस्न थाले । भक्तराज डेढ वर्षको हुँदा बुवाको निधन भएपछि आमासहित स–परिवार भारतको डुवर्स बसाई सरेका थिए । र, नेपाल फर्किएपछि गीत संगीतको क्षेत्रलाई फराकिलो बनाउन व्यस्त भए । उनका दर्जनौं गीत कालजयी छन् ।

२०४६ साल मंसिर १९ गते राति काठमाडौंको बौद्धमा सांघातिक आक्रमणबाट टाउकोमा गम्भीर चोट लागेका भक्तराज त्यसपछि शिथिल बन्दै गए । त्यसको ५ वर्षपछि क्यान्सरका कारण उनको जिब्रो काट्नु पर्यो । र, भक्तराजको गायनमा एकाएक पूर्णविराम लाग्यो । जिब्रो काटिएपछि उनले निकै नैराश्यता जीवन बिताउँदै आएका थिए । तैपनि उनी नेपाली गीत संगीत पारखीको मनबाट हट्न सकेनन् । भक्तराजका लोकप्रिय गीत मध्ये मुटु जलिरहेछ पनि एक हो ।

जिब्रो काटिएपछि आचार्यले झोलिलो पदार्थकै सहारामा जीवन काटे । ३० वर्ष घरैमा बस्दा पनि स्रष्टाको हकअधिकारका पक्षमा उनी उभिरहे । संगीतकार हरि लम्साल भक्तराजलाई संगीतको विश्वविद्यालयका रूपमा परिभाषित गर्छन् ।

क्यान्सरका कारण थलिएका आचार्यले सोमबार ८२ वर्षको उमेरमा यो संसार त्यागे । नेपाली सुगम संगीतमा विशिष्ट स्थान बनाएका आचार्य स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् ।

भक्तराजको जीवनको एउटा सुखद पक्ष पनि छ, त्यो हो उनको पदचाप पछ्याउदै सांगीतिक क्षेत्रमा दुई छोराहरु सत्यराज र स्वरुप राज सक्रिय हुनु । आफ्नो जीवनकालमा आचार्यले झण्डै ४ सय गीतमा स्वर तथा संगीत दिएका छन् । यसका साथै गजल, भजन, राष्ट्रिय गीत र बाल गीत पनि उनले गाएका थिए । आचार्य आफ्नो जीवनको पछिल्लो ३४ वर्ष संगीतबाट टाढा रहे तर उनका धेरै गीतहरू आज पनि गीत संगीतका पारखीको मुखमा झुन्डिरहेका छन् । उनको निधनसँगै नेपाली सांगितीक क्षेत्रले एक श्रष्टा गुमाएको छ । भक्तराजको निधनमा रेडियो कान्तिपुर उनीप्रति श्रद्धासुमन व्यक्त गर्दछ ।


प्रतिक्रिया