लुम्बिनीमा सत्ता भागबन्डालाई लिएर नयाँ विवाद, सरकारबाट बाहिरियो जसपा

वैशाख ९, २०८१ | देउखुरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत लिएको दुई साता नपुग्दै गठबन्धन दलबीच विवाद चर्किएको छ ।

पूर्वसहमति पालना नगरेको भन्दै लुम्बिनी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी जसपा सरकारबाट बाहिरिएको छ । दुई वटा मन्त्रालय दिने सहमतिको बिषय उठाउँदै सो पार्टीका नेता भण्डारीलाल अहिरले कृषि तथा भूमि व्यवस्थामन्त्रीबाट राजीनामा दिनुभएको हो ।

जसपा लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले सहमतिअनुसार दुई मन्त्रालय नदिएपछि पार्टीको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको बताउनुभयो । तत्कालका लागि सरकारबाट मात्र बाहिरिएको र आगामी दिनमा सहमति पालना नगरे सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने यादवको भनाइ छ ।

गत चैत ३० गते विश्वासको मत पाएका मुख्यमन्त्री महरालाई तीन सांसद भएको जसपाले समेत समर्थन गरेको थियो । विश्वासको मत लिंदा ४८ सांसदको समर्थन हासिल गरेका मुख्यमन्त्री महराले गठबन्धनका दलको समर्थन कायम राख्नुपर्ने दवाव सृजना भएको छ ।

४ सांसद भएको नागरिक उन्मुक्ति पार्टी समेत असन्तुष्ट रहेकाले मुख्यमन्त्री महरालाई जसपाको कदमले दवाव थपेको हो ।  


प्रतिक्रिया