विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर थानीसँग राष्ट्रपतिको आग्रह

वैशाख ११, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमण पश्चात बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गर्नु भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज बेलुका भएको द्विपक्षीय भेटका क्रममा राष्ट्रपति पौडेलले सो आग्रह गर्नु भएको हो । कतारी अमिर राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा आजै काठमाण्डौं आइपुग्नु भएको छ । 

राष्ट्रपति पौडेलले आफूहरूका लागि विपिनको रिहाइ महत्वपूर्ण चासोको विषय रहेको बताएको र रिहाइका लागि कतारका अमिरलाई पहल गरिदिन आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । गत ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी विपिन जोशी बेपत्ता छन् । सो अवसरमा कतारका अमिरले यसबारेमा विगतमा पनि चासो लिएर पहल गरेको र यसबारेमा थप पहल गर्ने पनि बताउनुभयो ।

यसैबचि राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा नेपाल आउनुभएका कतारका राजा अमिर शेख तमिम विन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा उहाँले सो कुरा बताउनुभएको हो । राष्ट्रपति पौडेलले सो क्षेत्रमा युद्धको अन्त्य र शान्तिको पुनःस्थापनाको कामना गर्दै कतारले शान्ति स्थापनाको लागि खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभएको थियो । थानीले जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनीकरणसम्बन्धी सम्झौताहरूको सबै मिलेर पालना गरे राम्रो परिणाम आउने बताउनुभयो । उहाँले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्रहरू पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने विश्वास समेत व्यक्त गर्नुभयो । थानीले कतारको विकासमा नेपालीहरूको ठूलो योगदान रहेकोमा त्यसको प्रशंसा गर्दै आभार प्रकट गर्नुभएको थियो । भेटमा उहाँले दुई देशबीच भोलि हुने समझदारी तथा सम्झौता नेपालमा रहेका जलस्रोत, कृषि, पर्यटनजस्ता क्षेत्रहरूमा लगानीको नयाँ सम्भावना बढाउन सकिने विश्वास व्यक्त गर्नुभएको थियो । 

 दुई मुलुकबीच नियमितरूपमा उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान हुने परम्परा रहिआएको र यसबाट द्विपक्षीय सम्बन्धको विस्तारमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस ऐतिहासिक भ्रमणले नेपाल र कतारको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताउनुभएको थियो ।

राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा राजकीय रात्रिभोजको आयोजना गर्नुभएको छ । भ्रमणका क्रममा नेपाल र कतारबीच भोलि विभिन्न विषयमा दुईपक्षीय समझदारीको तयारी भएको छ । कतारी राजा र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता लगत्तै विभिन्न ५ क्षेत्रमा समझदारी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता अमृतकुमार राईका अनुसार उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान तथा युवा र खेलकुदका क्षेत्रमा सहकार्य गर्ने विषयमा समझदारी हुनेछ । साथै, थप अन्य तीन विषयमा पनि समझदारी हुने मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया