सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै

वैशाख २२, २०८१ | धनगढी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी र सत्तारुढ दल एमालेबीच खटपट सुरु भएको छ । मुख्यमन्त्री सोडारी छलफल नै नगरी विश्वासको मत लिने मिति तय गरेको भन्दै एमाले रुष्ट भएको हो । 

एमालेको असन्तुष्टिकाबीच मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । बैशाख ६ गते मुख्यमन्त्री नियुक्त हुनु भएका एकीकृत समाजवादीका सोडारीले आज प्रदेश सभा बैठकमा विश्वासको मत लिन लाग्नु भएको हो । 

प्रदेश राजधानी धनगढीमा बस्ने प्रदेश सभाको बैठक आज अपराह्न साढे ५ बजेका लागि बोलाइएको छ । यसअघि मुख्यमन्त्री सोडारीले हिजो विश्वासको मत लिन आह्वान गरिएको बैठक स्थगित भएको थियो । 

एमालेले शुक्रबारको तालिकामा विश्वासको मत नदिने बताएपछि पूर्वनिर्धारित प्रदेश सभा बैठक स्थगित भएको हो । त्यसपछि प्रदेश सभा सचिवालयले आज अपराह्न साढे ५ बजेका लागि बैठक आह्वान गरेको हो । 

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत दिनुअघि मुख्यमन्त्री सोडारीसँग आवश्यक छलफल नभएकोले शुक्रबार मत दिन तयार नभएको बताउनु भएको थियो । 

एकीकृत समाजवादीका सोडारी एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता समूह र स्वतन्त्र सांसदको समर्थनमा बैशाख ६ गते मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । 

यसैबीच मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गर्दैगर्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विश्वासको मत सम्बन्धी प्रस्तावको प्रक्रियाको प्रतिवाद गर्ने निर्णय गरेको छ । 

यस्तै, नागरिक उन्मुक्ति पार्टीका सांसद विश्वासको मतमा पनि दुई खेमामा विभाजित हुने देखिएका छन् । प्रदेश सभामा कुल सात सांसद रहेको नागरिक उन्मुक्तिका रेशम चौधरी पक्षका पाँच जना सांसद भने विश्वासको मत विपक्षमा देखिएका छन् । 

सो पार्टीका प्रमुख सचेतक खुसीराम डगौरा थारुले विश्वासको मतको पक्षमा मतदान नगर्न यसअघि नै ह्वीप जारी गर्नु भएको थियो । नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधरका दुई जना सांसद भने मत दिने पक्षमा छन् । कैलाश चौधरी र टीका थापा दुई मन्त्री नियुक्त भईसक्नु भएको छ ।


प्रतिक्रिया