विभाजनपछि गठन भएको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगको मान्यता

वैशाख २४, २०८१ | काठमाडौं

निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल विभाजन भएर बनेको जनता समाजवादी पार्टीलाई दलको मान्यता दिएको छ ।

आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जसपालाई नयाँ दलको मान्यता दिने निर्णय आजको बैठकले गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखिकरण गर्ने भनेर आयोगले निर्णय गरेको हो ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन गरी अशोक राईको नेतृत्वमा बनेको नयाँ दलले मान्यताका लागि आयोगमा हिजो निवेदन दिएको थियो । आयोगले दल दर्ताको जानकारी र दल दर्ताको प्रमाणपत्र जनता समाजवादी पार्टीलाई दिदै संघीय संसद सचिवालय, सबै प्रदेशसभा सचिवालय र सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई समेत जानकारी दिने बताएको छ ।

यता, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले भने दल विभाजनको प्रावधान सम्वन्धि अध्यादेश खारेज रहेको अवस्थामा पार्टी विभाजन हुन नसक्ने जिकिर गरेको छ । सो पार्टीका प्रवक्ता मनिष कुमार सुमनद्वारा जारी विज्ञप्तिमा अवैधानिक निवेदनको आधारमा दल विभाजन हुने अवस्था नरहेको उल्लेख छ ।

सो पार्टीले भ्रममा नपरी आ आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न समेत आग्रह गरेको छ ।  


प्रतिक्रिया