सभामुखले प्रधानमन्त्री सहित नेताहरुसँग छलफल गर्दै

वैशाख २५, २०८१ | काठमाडौं

संसदको गतिरोध अन्त्यको पहल स्वरुप सभामुख देवराज घिमिरेले प्रधानमन्त्री सहित प्रमुख दलका शीर्ष नेताहरुसँग आज छलफल गर्दै हुनुहुन्छ । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

आगामी बजेट अधिवेशन सुरु हुनुअघि नै सहमतिको प्रयासका लागि सभामुखले शीर्ष नेताहरुलाई बोलाउनुभएको सभामुख घिमिरेको सचिवालयले जनाएको हो । संसदको बर्खे अधिवेशन आगामी २८ गतेदेखि सुरु हुँदैछ । 

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाइएको छ । 

सहकारीको रकम अपचलन प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले हिउँदे अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । 

कांग्रेसको अवरोधले सदनको कारवाही प्रभावित भएपछि सभामुखले शीर्ष नेताहरुको बैठक बोलाउनुभएको हो । सभामुखले सदनको अवरोध खुलाउन हिउँदे अधिवेशनमा पनि दुई पटक शीर्ष नेताहरुको बैठक आह्वान गर्नुभएको थियो । तर, सहमति प्रयास सार्थक हुन सकेको थिएन् । 

सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुंग्याउन मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग र कार्यव्यवस्थामा अलग अलग छलफल भएको थियो । 

संसदको आगामी अधिवेशनलाई प्रभावकारी बनाउन सभामुखले संसदीय समितिका सभापति र सचेतकसँग सामूहिक र प्रमुख सचेतक तथा मुख्य सचेतकसँग अलग अलग भेट गरिरहनुभएको छ ।

व्यक्ति तोकेर नभई संकटमा रहेका सहकारी संस्थाहरुको समग्र समस्या समाधान गर्ने गरी संसदीय समिति बनाउने प्रयासमा सत्ता गठबन्धनका दलहरु छन् । तर, कांग्रेसले रवि लामिछानेलाई बाहिर राख्ने गरी छानबिन समिति बन्न नसक्ने बताएको छ ।


प्रतिक्रिया