कोशीमा हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्दै

वैशाख २७, २०८१ | काठमाडौं

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि एमाले र माओवादी केन्द्रले आज दाबी प्रस्तुत गर्दैछ । एमाले र माओवादीले नयाँ सरकार गठनको लागि बिहान ११ बजे दाबी पेश गर्ने तयारी भईरहेको माओवादी कोशी प्रदेशको संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोले बताउनुभयो । 

एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै दाबी पेश गर्न लागिएको आङ्बोले जानकारी दिनुभयो । 

यसअघि हिजो अपराह्न नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन माग गर्दै सो गठबन्धनले प्रदेश प्रमुख खापुङलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । एमालेका ३९, माओवादीका १३, जनता समाजवादीका १ सहित ५३ सांसदको समर्थनमा सो गठबन्धनले मुख्यमन्त्री दाबी गर्न लागेको हो ।

यसैबीच, मुख्यमन्त्री केदार कार्की पदमुक्त हुनु भएको छ । कार्कीलाई पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार गएराति वैकल्पिक सरकार गठनको आह्वान गर्नु भएको थियो । सरकार गठनका लागि खापुङले शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिनु भएको छ । 

प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा प्रदेशसभाका ५२ जना सदस्यले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको र प्रदेशसभामा संकल्प प्रस्ताव पारित भएको अवस्थामा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिने सम्बन्धी कुनै प्रस्ताव प्रदेश सभामा दर्ता नभएको जानकारी आएकाले बहुमत प्राप्त गर्न सक्ने कुनै सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न भनिएको छ । 

एमाले र माओवादीले पेस गरेको संकल्प प्रस्ताव यही बैशाख ७ को प्रदेशसभा बैठकले पारित गरेको थियो । कांग्रेस नेता कार्की २०८० असोज २८ मा एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा संविधानको उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । 

यसैबीच, प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेसँगै मुख्यमन्त्री कार्कीले आजै सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गर्नु भएको छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार अन्तिम विकल्पको सरकार भएको र दुई वर्षसम्म कसैले अविश्वासको प्रस्तावसम्म पेस गर्न नसक्ने मुख्यमन्त्री कार्कीले दाबी गर्दै आउनु भएको छ । 


प्रतिक्रिया