एमसीसी परियोजनाः नवलपरासीमा बन्ने सब स्टेशन निर्माणको ठेक्का सम्झौता

वैशाख २७, २०८१ | काठमाडौं

अमेरिकी सहायताको मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजना अन्तर्गत नवलपरासीको बर्दघाट–सुस्तामा बन्ने सब स्टेशन निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।

परियोजना अन्तर्गत निर्माण हुने तीन वटा सब–स्टेशनमध्ये न्यु बुटवल सब स्टेशनका लागि आज एमसीए नेपाल र लिङ्सन इण्डिया कम्पनीबीच ठेक्का सम्झौता भएको हो ।

एमसीए नेपालका अनुसार सो सब स्टेशन निर्माण सम्झौता ३९ महिनाभित्र सक्नुपर्नेछ । एमसीसी परियोजना अनुसार ४ सय केभी न्यु बुटवल सब स्टेशनसहित नुवाकोटको रातमाटे र तनहुँको दमौलीमा समेत सबस्टेशन बन्नेछ ।

यसैबीच, एमसीए नेपालले विद्युत प्रसारण आयोजना अन्तर्गत बाँकी दुई वटा सब स्टेशनका लागि सम्झौताको गृहकार्य भइरहेको जनाएको छ । ती सम्झौतामा हस्ताक्षर गर्नका लागि खरिद प्रक्रिया अन्तिम चरणमा रहेको एससीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले बताउनुभयो ।

ठूलो विवादपछि एमसीसी सम्झौता २०७८ फागुन १५ गते संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन गरिएको थियो । त्यसपछि एमसीसी परियोजनाको कार्यन्वयनमा आशंका भइरहेका बेला सब स्टेशन निर्माणका लागि पहिलो ठेक्का सम्झौता भएको हो ।

ठेक्का सम्झौता हुनुलाई एमसीसी परियोजनाका लागि कोशेढुंगाको रुपमा अथ्र्याइएको छ ।


प्रतिक्रिया