गुल्मीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते

वैशाख १६, २०८१ | गुल्मी

गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । 

दुर्घटनामा परि सत्यवती गाउँपालिका–४ लिम्घाका ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलले बताउनुभयो । 

रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ जाँदै गरेको लु १ च ४३२० नम्बरको जिप सत्यवती–४ मौरीओडारमा दुर्घटनामा परेको हो । 

शनिबार राति मलामी गएर फर्किंदै गरेको गाडी दुर्घटना हुँदा चालक सहित १३ जना घाइते भएकोमा उपचारका क्रममा मनबहादुरको मृत्यु भएको डीएसपी पोखरेलले जानकारी दिनुभयो । 

राति पौने १२ बजे भएको दुर्घटनाका घाइतेलाई उद्धार गरी जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

दुर्घटनामा सत्यवती–५ का कृष्ण थापा, यसबहादुर बुढाथोकी, खेमु श्रीस, दुर्गाबहादुर राना, भुपेन्द्रदेव खप्तरी, पदमबहादुर बुढाथोकी, भरत बुढाथोकी, मिलन राना, ठगबहादुर बुढाथोकी, घनश्याम बुढाथोकी, वडा नम्बर–४ का चिनबहादुर राना, शंकर विक घाइते भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार घाइते मध्ये ४ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ । अन्यको भने जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमै उपचार भईरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया