भ्रामक समाचारः बयानका लागि बोलाउन सर्वोच्चको आदेश

वैशाख १७, २०८१

सर्वोच्च अदालतका न्यायाधीशलगायत विरुद्ध भ्रामक समाचार सामग्री तयार पारेर प्रसारण गर्ने ’सिधा कुरा’ नामक अनलाइन र युट्युब च्यानल तथा त्यसका प्रकाशक र सम्पादकलाई सर्वोच्चले बयानमा बोलाएको छ । अदालतको अवहेलना मुद्दामा प्रतिवादी सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नविन ढुंगानासहित संलग्न सबैलाई सर्वोच्चले बयानका लागि बोलाउने आदेश दिएको हो । यस्तै, सर्वोच्चले ’सिधाकुरा डट कम’ले अदातलको न्याय सम्पादन कार्यमा अवरोध गर्ने दुराषयपूर्ण र नियोजित तरिकाले सामग्री उत्पादन र प्रकाशन गरेको ठहर गर्दै घटनाको प्रकृति र गम्भीरतालाई दृष्टिगतगरी फौजदारी अवहेलनामा मुद्दा चलाउन समेत आदेश गरेको छ । 

सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीका अनुसार यो अवहेलना फौजदारी प्रकृतिको रहेको ठहर गर्दै फौजदारी दायरीमा दर्ता गर्नू भन्ने आदेश भएको हो । श्रव्य दृष्यमा उठाइएको विषयवस्तुको सत्यतथ्य तथा प्राविधिक पक्षको समेत विस्तृत अनुसन्धान हुनुपर्ने देखिँदा सो सम्बन्धमा आवश्यक अनुसन्धान गरी प्रचलित फौजदारी कानूनको उल्लंघन गरेको देखिएमा कानून बमोजिम कारवाईसमेत अगाडि बढाउन र सोको प्रतिवेदन सहितको जानकारी १५ दिन भित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत पेश गर्नु भनी प्रहरी महानिरीक्षकलाई लेखी पठाउने’ आदेश पनि गरेको छ । सो शीर्षकको सामग्री तथा त्यसपछि श्रृंखलाबद्ध रुपमा प्रसारण गरी अपलोड गरिएकासम्बन्धित फलोअप सामग्री पनि २४ घण्टाभित्र हटाउने आदेश गरेको छ । मुद्दाको अन्तिम निर्णय नभएसम्मय उत्पादन, प्रशारण, पुनः प्रसारण लगायत सार्वजनिक गर्ने कुनै कार्य नगर्नू नगराउन पनि आदेश गरेको छ ।

सर्वोच्च प्रशासनले हिजो मुद्दा दायर गरेको थियो । मुद्दामाथि आज न्यायाधीशहरू नहुकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भएको थियो । मुद्दामा जानाजान झूटा समाचार उत्पादन तथा प्रसारण गर्नेहरूविरुद्ध अदालतको अवहेलनामा हदैसम्मको कारबाही गर्न र अन्य फौजदारी कसुरमा समेत अनुसन्धान गराउन आदेश जारी हुनुपर्ने माग गरिएको थियो । 


प्रतिक्रिया