गैरसंवैधानिक अभ्यास नगर्न मुख्यमन्त्री कार्कीको आग्रह

वैशाख १८, २०८१

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा एमाले र माओवादी केन्द्रसहितका दलले राखेको संकल्प प्रस्तावको आधारमा नयाँ सरकार बन्न नसक्ने भन्दै प्रदेश प्रमुखलाई पत्र लेखेर गैरसंवैधानिक अभ्यास नगर्न आग्रह गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख परशुराम खापुङलाई तीन पृष्ठ लामो पत्र बुझाउँदै मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट पारित भएको संकल्प प्रस्ताव गैरसंवैधानिक भएको जिकिर समेत गर्नुभएको छ । संविधानको मर्म र भावनाविपरीत सरकार निर्माण गर्नु भन्ने आदेशात्मक अभिप्रायले संकल्प प्रस्ताव ल्याइएको कार्कीले टिप्पणी गर्नुभएको छ । 

सत्ता गठबन्धन फेरिएपछि २६ चैतमा मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको सूचना दिएको केही दिनपछि माओवादी र एमालेले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत लिन वा राजीनामा दिन निर्देशन दिने संकल्प प्रस्ताव पारित गरेका थिए । वैकल्पिक सरकार गठनका लागि प्रदेशसभा सक्षम रहेको भन्दै वैशाख २५ पछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन प्रमुख प्रमुखलाई सन्देश समेत प्रवाह गर्न ती दलले माग गरेका थिए । त्यसको एक साताअघि मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखलाई पत्र लेखेर नयाँ सरकार गठनको प्रक्रिया अघि नबढाउन आग्रह गर्नुभएको हो । मुख्यमन्त्री कार्की विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडानमा हुनुहुन्छ । 


प्रतिक्रिया