बारा परवानीपुरका उमाशंकर रायभरलाई सफाइ

वैशाख १८, २०८१

नागरिकता र हस्ताक्षर अर्कैले दुरुपयोग गरिदिएका कारण २८ करोड राजस्व छलीको झुट मुद्दा लागेका बारा परवानीपुरका उमाशंकर रायभरले सफाइ पाएका छन् । पाटन उच्च अदातलले रायभरलाई सफाइ दिंदै रायभरको नागरिकता दुरुपयोग गरी कम्पनी खडा गर्न सर्लाहीका सरोजकुमार मिश्र लगायतलाई दोषी ठहर गरेको छ । न्यायाधीशहरू दिपेन्द्र अधिकारी र डिल्लीरत्न श्रेष्ठको इजलासले गत आइतबार रायभरलार्ई सफाइको फैसला गरेको हो ।

रायभरको मुद्दा लडेकी अधिवक्ता राधिका खतिवडाका अनुसार एक निम्न वर्गीय व्यक्तिलाई अदालतले न्याय दिएको छ । झुटो मुद्दाका कारण रायभर करिब एक वर्ष जेल बसेर धरौटीमा रिहा भएका थिए । रायभरको नागरिकताको फोटोकपी, फोटो, हस्ताक्षर र ल्याप्चे दुरुपयोग गरी सर्लाहीका सरोजकुमार मिश्रले खोलेका कम्पनीले करिब २८ करोड रुपैयाँ राजस्व छली गरेका थिए । कम्पनी रायभरका नाममा पाइएपछि राजस्व अनुसन्धान विभागले उनीविरुद्ध ठगी मुद्दा चलाएको थियो । 

तर रायभरले यी कम्पनीको राजस्व छली गरेको र त्यसबाट कुनै पनि प्रकारको लाभ लिएको तथ्य प्रमाणित नभएपछि अदालतले सफाइ दिएको हो । अदालतले २०७८ माघमा रायभरको धरौटी २५ हजार कायम गरेपनि तिर्न सकेका थिएनन् ।


प्रतिक्रिया