सरकारले यही वैशाख ३१ गते वृहत खोज र खोप अभियान सञ्चालन गर्ने

वैशाख १८, २०८१

सरकारले यही वैशाख ३१ गते वृहत खोज र खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा , सूचना तथा सञ्चार केन्द्रकाअनुसार वैशाख ३१ गते सोमवार देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट १५ महिनाभित्र लगाउनुपर्ने खोप छुटेका ५ वर्ष मुनीका सबै बालबालिकालाई नियमित खोप लगाउने भएको हो । 

केन्द्रले नजिकैको स्वास्थ्य संस्थामा गई आफ्ना बालबालिकालाई छुटेको नियमित खोप लगाउन आग्रह गरेको छ । सरकारले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन गर्दै आएपनि कतिपय जिल्लाका बालबालिका पूर्ण खोपमा समेटिन सकेका छैनन् ।

यसैबीच हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले विभिन्न ७ जिल्लामा औषधि सेवन अभियान सञ्चालन गरिरहेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसपटक झापा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान गत आइतवारबाट शुरु गरेको हो । सो अभियान दुई हप्तासम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया