खेलकुदमा वर्ष २०८० लाई फर्केर हेर्दा

वैशाख २, २०८१ | काठमाडौं

वर्ष २०८० समग्र रुपमा क्रिकेटमय रह्यो । यही वर्ष नेपालले १० वर्षपछि आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि छनोट भयो । सन् २०१४ मा विश्वकप खेले पश्चात छनोट चरण पार गर्न नेपाललाई एक दशक लाग्यो । 

आईसीसीले हरेक दुई÷दुई वर्षमा आयोजना गर्ने टी–२० विश्वकप क्रिकेटको नवौं संस्करण वेष्टइण्डिज र संयुक्त राज्य अमेरिकामा २०८१ जेठ २२ देखि असार १७ गतेसम्म सञ्चालन हुनेछ । अब विश्वकपमा नेपालले आफूभन्दा बलिया टिमसँग खेल्दै विश्व क्रिकेट जगतमा आफूलाई स्थापित गर्नुपर्नेछ । 

विश्वकपमा नेपाल सहित २० टोली सहभागी हुने छन् । नेपालले एसिया छनोट क्षेत्रबाट विश्वकपको यात्रा तय गरेको हो । आशा गरौं २०८१ नेपाली क्रिकेटका लागि फलदायी रहला ।

यसवर्ष नेपालले एसीसी मेन्स प्रिमियर कप क्रिकेटको उपाधि जित्न सफल भयो । घरेलु भूमिमा आयोजित प्रतियोगिताको फाइनलमा संयुक्त अरब इमिरेट्स यूएईलाई ७ विकेटले हराउँदै नेपाल २ दशकपछि एसिया कप क्रिकेटका लागि छनोट भयो । पाकिस्तानमा आयोजित सो प्रतियोगितामा नेपालले भारत र पाकिस्तान जस्ता ठूला टोलीसँग खेल्दै अनुभव बटुल्न पायो । 

२०८० मा चीनकोे हांन्जाउमा आयोजित १९ औं संस्करणको एसियाली खेलकुद प्रतियोगितामा क्रिकेटबाट पदक जित्न नसकेपनि नेपालका खेलाडीले मंगोलयाविरुद्धको खेलमा ७ वटा विश्व कीर्तिमान बनाए । नेपालले गरेको सो प्रदर्शन विश्वभर चर्चाको विषय बन्यो ।

यस वर्ष क्रिकेटका पुरुष खेलाडीको जति चर्चा महिला खेलाडीले बटुल्न सकेन । तर महिला टोलीले हातबाट गुमाइसकेको टी–ट्वान्टी अन्तर्राष्ट्रिय एसिया कप खेल्ने सुनौलो मौका भने पायो । मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा घरेलु टोलीसँग ४ विकेटले स्तब्ध भएपछि नेपालको ९ वर्षपछि एसिया कप खेल्ने मौका गुमाएको थियो । 

एसियाली क्रिकेट परिषद् एसीसीले महिला क्रिकेटलाई प्रवर्धन गर्ने उद्देश्यसहित एसिया कपमा ८ टिम सहभागी गराउने निर्णय गरेपछि महिला टोली भाग्यमानी बन्यो । एसिया कपमा अब नेपालले भारत र पाकिस्तान जस्ता बलिया टिमसँग खेल्ने छ । 

सन् २०१८ मा ६ तथा सन् २०२२ मा भएको पछिल्लो संस्करणमा ७ टिम मात्रै सहभागी भएका थिए । उमेर समूहका क्रिकेट प्रतियोगितामा भने नेपालले उत्कृष्ट प्रदर्शन गर्न सकेन । नेपाल संयुक्त अरब इमिरेट्स यूएईमा आयोजित एसीसी यू–१९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियो । एशिया कपमा पाकिस्तान र अफगानिस्तानसँग पराजित नेपालले गत पुषमा आईसीसी यू–१९ विश्वकप क्रिकेट पनि खेल्यो ।

पछिल्लो समय नेपाली क्रिकेटले हासिल गरेको उपलब्धिपछि सरकारले निर्माणाधिन अवस्थामा रहेका तीन रंगशालालाई गौरवको आयोजनामा समावेश गरेको छ । गत कात्तिक २३ गते बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंको मूलपानी तथा चितवन र विराटनगरमा निर्माणधिन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गर्ने घोषणा गरेको हो । यो समग्र नेपाली क्रिकेट प्रेमीका लागि खुसीको कुरा हो ।

यसै वर्ष नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघमा तेस्रो कार्यकाल सम्हाल्न चतुरबहादुर चन्द नेतृत्वमा आए । निर्विरोध अध्यक्ष चयन गर्दै क्यानले गत असोजमा चार वर्षका लागि केन्द्रीय समिति चयन गर्‍यो । क्यानको नयाँ कार्यसमितिमा पूर्वकप्तान पारस खड्कासहित युवाको प्रवेशले नेपाली क्रिकेट चलायमान हुने अपेक्षा धेरैले गरेका छन् । 

क्यानले यो पटकदेखि प्रधानमन्त्री कप राष्ट्रिय पुरुष तथा महिला क्रिकेट डबल राउण्ड रोबिनका आधारमा सुरु गरेको छ । क्यानले आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै क्रिकेट टिमलाई व्यस्त राख्ने योजना बनाएको छ । यस्तै, पुरुषतर्फ नेपालको ए टिमको पनि घोषणा गरेको छ ।

क्रिकेटपछि अब नेपाली राष्ट्रिय फुटबलको कुरा गरौं,

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले भने फिफा विश्वकप फुटबल २०२६ को एसियाली छनोट अन्तर्गत बहराइनसँगको दुबै खेलमा हार व्यहोरेको छ । घरेलु मैदान अन्तर्राष्ट्रिय म्याचका लागि अयोग्य भएपछि नेपालले आफ्नो होम म्याच पनि बहराइन मै खेलेको थियो । 

विश्वकप एसियाली क्षेत्र अन्तर्गतको प्रारम्भिक छनोट चरणमा नेपालले लाओसविरुद्ध २–१ को जित हात पारेको थियो । नेपाल रहेको समूह ‘एच’मा संयुक्त अरब इमिरेट्स यूएई, बहराइन र यमन रहेका छन् । 

यूएई १२ अंक सहित शीर्ष स्थानमा छ भने ९ अंकका साथ बहराइन दोस्रो स्थानमा छ । तेस्रो स्थानको यमनको ३ अंक छ । अंकविहीन नेपाल पुछारमा छ । अब छनोटका बाँकी दुई खेलमा नेपालले यूएई र यमनको सामना गर्नेछ । सो खेल नेपालले आगामी जुनमा खेल्नेछ ।

यस्तै, भारतमा गत असारमा आयोजित १४ औं संस्करणको साफ पुरुष च्याम्पियनसिपमा नेपाल सहभागी भयो । सो प्रतियोगितामा नेपालले विश्वकपको अनुभव बोकेको कुवेत, भारत र पाकिस्तान जस्ता बलिया टिमसँग खेल्ने मौका पायो । तर बिडम्बना नेपालले समूह चरण नै पार गर्न सकेन ।

यता, घरेलु प्रतियोगिता शून्यप्राय हुँदा पनि राष्ट्रिय महिला फुटबल टोलीले साउदी अरेबियामा आयोजित वाफ वुमेन्स च्याम्पियनसिप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्‍यो । डेब्यू सहभागीता मै फाइनलसम्मको यात्रा तय गरेको नेपाल डिफेन्डिङ च्याम्पियन जोर्डनसँग टाइब्रेकरमा पराजित भयो । सो प्रतियोगितामा ९ गोल गर्दै राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी सर्वाधिक गोलकर्ता बनिन् । 

सन् १९८६ देखि अन्तर्राष्ट्रिय महिला फुटबल खेल्न थालेको नेपालले त्यसयता उपाधि भने जित्न सकेको छैन । महिलाको उमेर समूहतर्फ भने नेपालले उत्कृष्ट नतिजा हात पार्न सकेन । घरेलु भूमिमा आयोजित साफ यू–१६ महिला च्याम्पियनसिप फुटबलमा नेपाल समूह चरणबाटै बाहिरियो ।

वर्ष २०८० मा नेपाली फुटबलले खासै राम्रो नतिजा हात पार्न सकेन । चेन्ज एन्फाको नारा लिएर पंकविक्रम नेम्वाङ्ग नेतृत्वमा अखिल नेपाल फुटबल संघको नयाँ समिति चुनिएको डेढ वर्ष नाघिसक्यो । तर, एन्फा फुटबल गतिविधि गर्न छोडेर आन्तरिक विवाद मै अल्झिरहेको छ । घरेलु लिग समेत नहुँदा खेलाडीमा निराशा छाएको छ । फुटबलबाट जीवन निर्वाह गर्न नसकिने भन्दै थुप्रै खेलाडी विदेशिएका छन् ।

यता, भलिबलतर्फ भने घरेलु भूमिमा आयोजित काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गर्दै ह्याट्रिक गर्ने लक्ष्य बोकेको नेपाली राष्ट्रिय महिला भलिबल टोलीको सपना यो पटक पनि अधरौ रह्यो । प्रतियोगितामा नेपाल तेस्रो स्थानमा सीमित भयो । 

घरेलुु कोर्टमा राम्रो सुरुवात गर्दै समूह चरणमा कीर्गिस्तान र बंगलादेशलाई हराएको नेपाल अन्ततः सेमिफाइनलमा काजकिस्तानसँग पराजित हुन पुग्यो । लामो समय तयारी गरेपनि उपाधि रक्षा गर्ने योजना सार्थक नभएपछि महिला भलिबलका लागि अझै मिहिनेत गर्नुपर्ने देखिएको छ ।

नेपालमा अन्य खेलकुद प्रतियोगिताको तुलनामा बास्केटबलका प्रतियोगिता निकै कम आयोजना हुने गर्छन् । युवा पुस्तामाझ फुटबल र क्रिकेटसँगै नेपालमा बास्केटबल पनि लोकप्रिय खेल मध्येमा पर्छ । 

वर्ष २०८० मा नेपाल बास्केटबल संघले पहिलो पटक फ्रेन्चाइज पुरुष बास्केटबल लिग एनबीएल आयोजना गर्यो । गत असोज १२ देखि २७ गतेसम्म सञ्चालन भएको लिगमा दुुई कलेजसहित ८ टीम सहभागी भए ।

यस्तै, वर्ष २०८० मा एसिया महादेशको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताका रुपमा स्थापित एसियाली खेलकुदको १९ औं संस्करण चीनको हांन्जाउमा सम्पन्न भयो । प्रतियोगितामा ४५ राष्ट्रका करीब ५ हजार ५४ खेलाडीले सहभागिता जनाए । नेपालले पनि सो प्रतियोगितामा इतिहासकै ठूलो टिम पठायो । २९ खेलका लागि २ सय ५३ खेलाडी एसियाडमा पठाए पनि नेपालले मात्र दुई पदक जित्यो । 

महिला कबड्डीमा कास्य जितेको नेपालका लागि एरिका गुरुङले करातेमा रजत पदक दिलाइन् । पदकको आश गरिएका तेक्वान्दो र बक्सिङमा यसपटक पनि नेपाललाई निराशा हात लाग्यो । सदाझैं यसपटक पनि एशियाली खेलकुद नेपाली खेलाडीका लागि राष्ट्रिय कीर्तिमान कायम गर्ने थलो बन्यो । यसो भनिरहँदा बिर्सन नहुने तथ्य के हो भने नेपालले लगातार दुई संस्करणमा रजत पदक जित्न सफल भएको छ । कराते खेलाडी एरिका गुरुङले कुमुतेतर्फ महिला ६८ केजीमाथि तौल समूहमा ऐतिहासिक रजत जितिन् ।

यस्तै, उनले चैत्रमा अमेरिकामा भएको यूएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा एक स्वर्ण र एक रजत जितिन् । यू–२१ महिला ६८ केजीमाथि तौल समूहको फाइनलमा एरिकाले क्यानडेली खेलाडीलाई पराजित गर्दै स्वर्ण जितिन् । यस्तै सिनियर तर्फको ६८ केजीमाथि तौल समूहमा उनी फाइनलमा अमेरिकी खेलाडीसँग पराजित भएपछि रजतमा चित्त बुझाइन् ।

यता, नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले यसै वर्ष अन्तर्राष्ट्रिय फुटबलमा ५० गोलको कोशेढुंगा पार गरिन् । 

साउदी अरेबियामा भएको वाफ च्याम्पियनसिप अन्तर्गत इराकविरुद्धको खेलमा ह्याट्रिकसहित ५ गोल गरेपछि साम्बाले राष्ट्रिय टोलीका लागि ५० औँ अन्तर्राष्ट्रिय गोल गरेकी हुन् । उनले राष्ट्रिय टोलीका लागि खेलेको अफिसियल ४९ खेलमा ५० गोल पूरा गरेकी हुन् । योसँगै अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि ५० गोल गर्ने साम्बा पहिलो नेपाली खेलाडी समेत बनिन् । 

भारत र माल्दिभ्सको व्यावसायिक लिगमा पाएको एक्सपोजरबाट युरोपेली लिगको ढोका खोल्न सफल भएकी साम्बा हाल फ्रान्सेली क्लबमा अबद्ध छिन् । गोलमेसिनको पहिचान बनाएकी साम्बा महिला फुटबलरको रुपमा मात्रै नभई नेपालकै फुटबलरमा सबैभन्दा बढी गोल गर्ने खेलाडीमा पर्छिन् ।

वर्ष २०८० मा पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धनले नयाँ कीर्तिमान बनाइन् । फ्रान्समा आगामी अगस्टमा आयोजना हुने ‘पेरिस पारा ओलम्पिक’ का लागि उनी छनोट भएकी हुन् । चीनमा आयोजित पारा ओलम्पिकको एसियन छनोटमा पलेसाले ५७ केजीमुनी तौल समूहमा स्वर्ण जित्दै पारा ओलम्पिकमा स्थान पक्का गरेकी हुन् । 

उनले फाइनलमा इरानी खेलाडी लेल्ला मिर्जाईलाई पराजित गरिन् । योसँगै छनोट चरण पार गर्दै पारा ओलम्पिकमा छनोट हुने पलेसा पहिलो नेपाली खेलाडी तथा ओलम्पिक पुग्ने तेस्रो नेपाली खेलाडी बनेकी छन् । यसअघि एसियाली छनोट चरण पार गर्दै संगिना वैद्य सन् २००४ को ग्रिस ओलम्पिक र दिपक विष्ट २००८ को बेइजिङ ओलम्पिक खेलेका थिए ।

तेक्वान्दो खेल्न सुरु गरेको छोटो समयमै आफूलाई अब्बल दर्जाको खेलाडी प्रमाणित गरिसकेकी पलेसाको बायाँ हातको कुहिनामुनिको भाग छैन । २० वर्षीया पलेशा सन् २०१८ मा भियतनाममा आयोजित चौंथो एसियाली पारा खेलकुदकी कास्य पदक विजेता हुन् । 

दुई पटक विश्व पारा–तेक्वान्दो च्याम्पियनसिप र तीन पटक एशियन पारा–तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेकी अनुभवी खेलाडी पलेशाले सन् २०१६ देखि नेपाल तेक्वान्दो संघमा प्रशिक्षक कविराज नेगी लामासँग प्रशिक्षण लिइरहेकी छन् ।

वर्ष २०८० मै नेपाली खेलाडी गुणराज रुचालले १९ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जिते । थाइल्याण्डमा आयोजित सेमी प्रोको पुरुष ५४ केजीमा गुणराजले इटालीका खेलाडीलाई हराउँदै स्वर्ण पदक हात पारे । 

च्याम्पियनसिपको ५१ केजी सेमी प्रोमा नेपालका सन्जय राईले रजत पदक जित्दा, एमेच्यारतर्फ पुरुष ५१ केजीमा सुशिल शाह ठकुरीले रजत तथा ५७ केजीमा गुमान घर्ती मगरले कास्य पदक जितेका छन् ।

हालै मात्र नेपाली खेलकुद क्षेत्रले युवा खेलकुद मन्त्री पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सासंद तथा राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष समेत रहेका विराजभक्त श्रेष्ठ खेलकुद गतिविधि हाक्न मन्त्रालयमा आएका छन् । 

युवा आगमनले खेल प्रेमीमा केही आशा पलाएको छ । समग्रमा भन्दा नेपाली खेलकुदका लागि वर्ष ०८० राम्रो रह्यो । प्रशिक्षण र वैदेशिक एक्सपोजरका हिसाबले पनि खेलाडीहरु व्यस्त रहे । सोही अनुसारको नतिजा पनि आयो ।


प्रतिक्रिया