राष्ट्रिय महिला भलिबलको उपाधिका लागि पुलिस र एपीएफ क्लब भिड्दै

वैशाख १५, २०८१ | काठमाडौं

शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सातौं संस्करणको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि नेपाल पुलिसले एपीएफ क्लबको सामना गर्दैछ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुने फाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ । चार टोली सहभागी प्रतियोगिताको लिगमा एपीएफ अपराजित रहँदै फाइनलमा पुगेको हो । 

पुलिसले भने शुक्रबार आर्मीलाई पराजित गर्दै उपाधि यात्रा तय गरेको हो । एपीएफ लिग विजेता र पुलिस उपविजेताका रुपमा फाइनलमा पुगेको हो । यस्तै, प्रतियोगिताको तेस्रो स्थानका लागि न्यु डायमण्ड र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ । 

न्यु डायमण्ड र त्रिभुवन आर्मीबीचको खेल मध्याह्न १२ बजे सुरु हुनेछ । शुक्रबार सम्पन्न खेलमा पुलिसले आर्मीलाई ३–१ र एपीएफले न्यु डायमण्ड एकेडेमीलाई ३–२ को सेटमा पराजित गरेको थियो । 

प्रतियोगिताको विजेताले चार लाख ९९ हजार र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । तेस्रो हुने टोलीले एक लाख २५ हजार तथा चौथोलाई ६२ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले जनाएको छ । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।


प्रतिक्रिया