वेस्ट इन्डिजविरुद्धको सिरिजः अन्तिम म्याचमा नेपालको “सान्त्वना जित”

वैशाख २२, २०८१ | काठमाडौं

नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पाँच म्याचको टि–ट्वान्टी सिरिजको अन्तिम म्याचमा ६ विकेटले पराजित गरेको छ ।

पाहुना टोलीले सिरिज जितिसकेको अवस्थामा घरेलु टोली नेपालले आज पाँचौ तथा अन्तिम म्याचमा ६ विकेटको जित हात पारेको हो । योसँगै वेस्ट इन्डिजले ३–२ को अग्रतासहित सिरिजको ट्रफी उचालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज वेस्ट इन्डिजको टोलीले दिएको १ सय ७३ रनको लक्ष्य नेपालले ७ बल बाँकी रहँदै १८ दशमलव ५ ओभरमा पूरा गरेको हो । नेपालको जितमा अनिल शाहले सर्वाधिक ५८ तथा अशिफ शेखले ५१ रनको अर्धसतकीय इन्ङ्सि खेले । यस्तै कुशल मल्लले नट आउट रहँदै ३७ रन बनाए ।

त्यसअघि टस जितेर सुरुवाती ब्याटिङ गरेको वेस्ट इन्डिजको टोलीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रनको बनाएको थियो । उसका लागि एलिक एथेनाजेले नटआउट रहँदै ४२, रोस्टन चेजले ३३, जोनशन चाल्र्सले २४ तथा म्याथ्यू फोर्डले २३ रन बनाएका थिए ।

नेपालका लागि सोमपाल कामी र सागर ढकालले समान ३÷३ विकेट लिए । सोमपालले ४ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिएका हुन् भने सागरले २ ओभरमा १७ रन दिँदै ३ विकेट लिएका हुन् । यस्तै अभिनाश बोहोराले ४ ओभर बलिङ गर्दै ४९ रन खर्चिँदै १ विकेट लिए ।

आजको खेलमा नेपाल विजयी भएपनि सिरिजको उपाधि भने वेस्ट इन्डिज ‘ए’ ले जितेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी दोस्रो, तेस्रो र चौथो खेलमा पराजित भएको थियो । 


प्रतिक्रिया