सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन नगरकोटी शीर्षस्थानमा

वैशाख ११, २०८१

सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौं प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन इभन–पार ६८ को स्कोरमा भुवन नगरकोटी शीर्ष स्थानमा रहेका छन् । नगरकोटीले रवि खड्का, भुवन कुमार रोक्का र निरज तामाङलाई एक स्ट्रोकले पछि पारेका हुन् । रवि, भुवन र निरजले भने पहिलो दिनको खेल १–ओभर ६९ मा सकाउँदै संयुक्तरुपमा दोस्रो स्थान बाँडे। २–ओभर ७० को नतिजामा पुर्ण प्रसाद शर्मा, धन बहादुर थापा, जयराम श्रेष्ठ, सञ्जय लामा र दिनेश प्रजापतिले संयुक्त रुपमा पाँचौं स्थान बाँडे। पशुपति शर्मा ३–ओभर ७१ को स्कोरमा दशौं स्थानमा रहेका छन्।

पहिलो दिन शीर्षस्थानमा रहेका भुवन नगरकोटीले फ्रन्ट नाइन २–ओभर ३६ मा सकाए। दिनको सुरूवात बर्डीबाट गरे। पहिलो होलमा बोगी प्रहार गरेपनि दोस्रो, तेस्रो र नवौं होलमा बर्डीको सामना गरे। रविले सुरूवात खराब गरे। दोस्रो, तेस्रो, सातौं र नवौं होलमा बोगी खेल्दै फ्रन्ट नाइन ४–ओभर ३८ मा सकाए। यसपछि भने खेलमा सुधार ल्याएका थिए । एमेच्योरतर्फ टासी छिरिङ र सदभाव आचार्य संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन। उनीहरूले ४–ओभर ७२ मा पहिलो दिनको खेल सकाए। ८–ओभर ७६ को स्कोरमा निल कुमार थापा र भरत थापा मगरले संयुक्तरुपमा तेस्रो स्थानमा बाँडे। सुर्य नेपाल गल्फ टुरमा डेब्यु गरेका सुबाश तामाङले पहिलो दिन ४–ओभर ७२ को प्रदर्शन गरे। उनी समग्रमा एमेच्योरद्वय टासी र सदभावसँग संयुक्तरुपमा ११औं स्थानमा रहेका छन् ।

चार दिने प्रतियोगितामा ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन। टप २१ मा पर्ने खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख ३ हजार ५ सय रहेको छ। विजेताले १ लाख २० हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ८२ हजार र ६६ हजार प्राप्त गर्नेछन। यसैगरी चौथो हुनेले ५५ हजार र पाँचौ हुने खेलाडीले ४३ हजार नगद हात पार्नेछन् ।


प्रतिक्रिया