विश्वासको मतकालागि सुदूरपश्चिममा बोलाइएको प्रदेशसभा बैठक आजपनि स्थगित
वैशाख २२, २०८१ | काठमाडौं
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनकालागि आज आह्वान भएको बैठक पनि स्थगित भएको छ ।
एमालेले विश्वासको मत नदिने भनेपछि हिजोका लागि आव्ह्रान गरिएको बैठक स्थगित गरि आजका लागि सारिएको थियो । एमालेले आज पनि विश्वासको मत नदिने निर्णय गरेपछि बैठक स्थगित भएको हो । प्रदेश सभा सचिवालयका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको छ ।
आफूहरुसँग सल्लाह नै नगरि बैठक आव्ह्रान गरिएकाले विश्वासको मत दिने अवस्था नभएको एमालेले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताउनुभयो । एकीकृत समाजवादी संसदीय दलका उपनेता प्रकाश रावलले अब थप छलफल गरेर अर्को दिनका लागि मिति तोकिने जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी र एमालेबीच सहमति हुन नसक्दा विश्वासको मत प्रक्रिया अन्यौलमा परेको हो । मुख्यमन्त्री सोडारीले छलफल नै नगरी विश्वासको मत लिने मिति तय गरेको भन्दै एमाले रुष्ट भएको हो ।
एकीकृत समाजवादीका सोडारी एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ चौधरी समूह र स्वतन्त्र सांसदको समर्थनमा बैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।