कोशी प्रदेशः दलहरुबीच सत्ता प्राप्तिका लागि हानाथाप बढ्दै

वैशाख २६, २०८१

कोशी प्रदेशमा दलहरुबीच सत्ता प्राप्तिका लागि हानाथाप बढ्दै गएको छ । वर्तमान मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारको निरन्तरताको बिषयलाई लिएर उनीहरुबीच विवाद उत्पन्न भएको हो । केन्द्रिय गठबन्धन अनुसार एमाले र माओवादी तथा कंग्रेसले आफ्नो माग पुरा गराउन प्रदेश प्रमुखको ध्यानाकर्षण गराइरहेका छन् । एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्न माग गरेका छन् । प्रदेश, सरकार विहीन भएको दाबी गर्दै उनीहरुले नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखलाई भेटेर आग्रह गरेका हुन् ।

संविधानको व्यवस्थाबमोजिम मुख्यमन्त्रीले अल्पमतमा परेको ३० दिनसम्म पनि विश्वासको मत नलिएकाले सरकार विहीनताको अवस्था सिर्जना भएको उनीहरुको दाबी छ । उनीहरुले आजै प्रमुख सभा सचिवालयलाई निवेदन लेख्दै वैशाख ६ र ७ गते बसेको प्रदेशसभाको विशेष अधिवेशनको निर्णय कार्यान्वयनको अवस्थाबारे जानकारी दिन माग गरेका थिए । त्यसलगत्तै उनीहरुले प्रदेश प्रमुख पर्शुराम खापुङलाई भेटेर नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न माग गरेका हुन् । पत्र बुझ्दै प्रदेश प्रमुख खापुङले आफू संविधान, ऐन र कानुन अनुसार अघि बढ्ने बताउनुभयो । 


प्रतिक्रिया