सरकारको काम प्रभावकारी नभए पदमा नबस्ने प्रधानमन्त्री दाहालको दावी, अर्को उथलपुथल गर्ने भनाइ

चैत्र १५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको कामलाई प्रभावकारी बनाउन नसकेमा आफू पदमा बसिरहने पक्षमा नभएको दावी गर्नुभएको छ । सरकारले अघि सारेका योजना अघि बढ्न नसकेमा अर्को उथलपुथल गर्नुपर्ने अवस्था आउने दाहालको भनाइ छ । सिंहदरवारमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

बजेटमा निर्धारण गरिए अनुसारको पूँजीगत खर्च नहुने अवस्था अन्त्य गर्ने पक्षमा रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । बजेट खर्चमा देखिँदै आएको समस्या समाधान हुने गरी आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गरिने उहाँले बताउनुभयो ।

यसैबीच, प्रधानमन्त्री दाहालले प्रदेश र स्थानीय सरकारलाई दिइने वित्तीय समानीकरण अनुदान घटाउने पक्षमा सरकार नरहेको बताउनुभएको छ । सङ्घीय सरकारले सो अनुदान घटाउने आशङ्का प्रदेश र स्थानीय सरकारले गरिरहेका बेला प्रधानमन्त्री दाहालले त्यसबारे प्रष्टीकरण दिनुभएको हो । 


प्रतिक्रिया