जीबी राईलाई पक्राउ गर्न सरकारले तदारुकता नदेखाएको सहारा सहकारीका बचतकर्ताको गुनासो

वैशाख १४, २०८१ | चितवन

चितवनस्थित सहारा बहुउद्धेश्यीय सहकारी संस्थाका बचतकर्ताले फरार सञ्चालक जीबी राईलाई पक्राउ गर्न सरकारले तदारुकता नदेखाएको बताएका छन् ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मालाई आज ज्ञापनपत्र बुझाउँदै सहाराका बचतकर्ताले राई पक्राउ नपर्नुमा प्रश्न उठाएका हुन् ।

चितवन सहारामा ८५ करोड रुपैयाँको हाराहारीमा बचत रकम संकलन भएको र सहकारीको नियमविपरीत रकम व्यक्ति तथा निजी फर्महरूमा बिनाधितो स्थानान्तरण गरेको ज्ञापनपत्रमा भनिएको छ ।

बचतकर्ताहरूको ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी शर्माले राज्यले पीडितलाई न्याय दिलाउने सन्दर्भमा काम गरिरहेको बताउनुभयो ।

जीबी राई सञ्चालक रहेको गोरखा मिडिया प्रालिको नाममा चितवन सहाराबाट १२ करोड रूपैयाँ लगेको प्रहरी अनुसन्धानले देखाएको छ । संघर्ष समितिका संयोजक रहेका शालिकराम दुवाडीले प्रहरीले सो सहकारीको कार्यालयबाट आवश्यक सम्पूर्ण कागजहरू नियन्त्रणमा लिएको तर अन्य कुनै कारबाही अगाडि नबढाइएको बताए ।

पीडितहरूले आजनै चितवन जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष भक्तिराम अधिकारीलाई पनि ज्ञापनपत्र बुझाउँदै समस्या समाधानमा पहल गरिदिन माग समेत गरेका छन् ।  


प्रतिक्रिया