१५ किलो चरेशसहित वीरगञ्जबाट २ पक्राउ

तस्बिर सौजन्य : सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वाटर, पर्सा । 

असार २७, २०८० | पर्सा

लागूऔषध चरेश सहित बुधबार पर्साबाट दुई जनालाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ । वीरगञ्ज भन्सारको मुल गेटको चेक प्वाइन्टबाट चरेश सहित पटेर्वा सुगौली गाउँपालिका–५ का ३५ वर्षीय सत्यनारायण माझी र ४० वर्षीय प्रलाद माझीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । 

भन्सार मुल गेटमा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा भारततर्फ जाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । 

भारतीय नम्बरको मोटरसाइकलमा सवार माझीद्वयको चेकजाँच गर्ने क्रममा मोटरसाइकलको ट्यांकीमा लुकाई राखेको अवस्थामा १५ किलो ३ सय १० ग्राम चरेश बरामद भएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वाटर प्रहरी नायब उपरीक्षक डीएसपी सन्तोष कुमार बस्नेतले जानकारी दिनुभयो । 

पक्राउ परेका माझीद्वयलाई चरेश र मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि सीमा प्रहरी चौकी इनर्वामा बुझाइएको डीएसपी बस्नेतले जानकारी दिनुभयो ।


प्रतिक्रिया