राष्ट्रिय शैक्षिक परामर्श संघको पाँचौँ साधारणसभा सम्पन्न

फाल्गुन १, २०८० | काठमाडौं

राष्ट्रिय शैक्षिक परामर्श संघ नेकाको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। शुक्रवार लिसारा रिसेप्सनको हलमा आयोजित एक कार्यक्रमकाबीच संघीय संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

संघका अध्यक्ष सन्तोष प्याकुरेलका अनुसार कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी स्वपाका सह प्रवक्ता मनिस झा, स्वतन्त्र सांसद अमरेश कुमार सिंह, सांसद विराजभक्त श्रेष्ठ, जसपा नेता भिम राई, युवा क्रिकेटर अविनाश बोहरा सहित विभिन्न संस्थाका प्रतिनिधिहरू अतिथि एवं संघका सदस्य परामर्श व्यवसायीहरू सहभागीका रुपमा उपस्थित थिए ।

सांसद विराजभक्त श्रेष्ठले परामर्श व्यवसाय क्षेत्रका समस्याहरू समेटेर नेकाले बुझाएको ध्यानाकर्षण पत्र आफ्नो पार्टीले पाएको र त्यसलाई अब संसदीय दलमा लगेर छलफल गराउने तयारी रहेको बताए । यस्तै स्वतन्त्र सांसद अमरेश कुमार सिंहले परामर्श व्यवसायमा देखिएको समस्याप्रति आफूहरू चिन्तित रहेको तर, परामर्श व्यवसायीले रेमिटेन्स बारे गलत तथ्यांक दिएको भन्दै असन्तुष्टि जनाए । अध्ययन गर्न विदेशिने धेरै विद्यार्थी देश नफर्किने र उनीहरूले पैसा पनि नेपाल नपठाउने सिंहको भनाई छ ।

कार्यक्रममा आफ्नो भनाई राख्दै जसपा नेता भिम राईले स्वतन्त्र सांसद सिंहको आलोचनामा समय खर्चिएका थिए । उपदेश बाँडेर देश नबन्ने भन्दै राईले कानुन निर्माताले म्यानपावर र परामर्श व्यवसायीबीचको छुटाउन सक्नुपर्ने टिप्पणी गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता एवं सांसद मनिष झाले एनओसिको तथ्यांकलाई अन्तिम तथ्यांक मानेर देश बर्बाद भयो भन्नु अल्पज्ञान हुने तर्क गरे ।

शैक्षिक परामर्श संघहरुले काठमाडौँ विश्व विद्यालय जस्ता विदेशी विद्यार्थी पढाउन तयार विश्व विद्यालयहरूलाई विद्यार्थी ल्याइदिएर सहयोग गर्नुपर्नेमा प्रमुख अतिथि एवं शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति जोशीको जोड थियो । यता कार्यक्रमका सभापति तथा संघकाअध्यक्ष प्याकुरेलले परामर्श व्यवसाय क्षेत्रलाई मिनी म्यानपावर बनाउने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन् ।  


प्रतिक्रिया