बुटवलका जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिलाई घरघरमै स्वास्थ्य सेवा

माघ २३, २०८० | तिलोत्तमा

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरुको सुबिधाको लागि घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण सेवा दिन थालेको छ । 

उपमहानगरले जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरुको सुबिधालाई ध्यानमा राखेर सोमबारबाट ‘बाआमासँग नगर प्रमुख निशुल्क स्वास्थ्य परीक्षण र उपचार कार्यक्रम सुरु गरेको हो । 

उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल–१२ तामनगर प्रगति टोलकी ११० वर्षीया ऐरावती बरइको स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभयो । 

ऐरावतीको घरमै पुगेर नगर प्रमुख पाण्डेयले फलफूल लगायत सामग्री प्रदान गर्नु भएको थियो । सो अवसरमा नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउने गरी योजनाहरु बनाएको र कार्यान्वयन गर्दै लैजाने बताउनुभयो । 

घरबाहिर निस्किन नसक्ने र फरक क्षमता भएका व्यक्तिहरुको सहजताको लागि विशेषज्ञ सहितको घरदैलोमा स्वास्थ्य परीक्षण सेवा सुरु गरिएको बताउनुभयो ।

जेष्ठ नागरिक बरईको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालकी वरिष्ठ फिजिसियन डा नन्दु पाठकले स्वास्थ्य परीक्षण गर्नु भएको थियो । 

लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. पाठकले घरदैलोमा पुग्ने यस्तो सुविधाले नागरिकलाई सहज हुने भन्दै स्वास्थ्य क्षेत्रबाट बुटवल उपमहानगरपालिकालाई सक्दो सहयोग गर्ने बताउनुभयो । 

चालू आर्थिक वर्षको बजेटमा ‘बाआमासँग नगर प्रमुख’का साथसाथै ‘उपप्रमुख सुत्केरी स्वास्थ्य वर्द्धक कार्यक्रम’, शिशु पोषण कार्यक्रम र जटिल रोगका बिरामीका लागि राहत दिने र उपचारमा सहयोग गर्ने कार्यक्रम नियमित रुपमा सञ्चालन भइरहेको पाण्डेले जानकारी दिनुभयो ।

कार्यक्रममा आम्दा अस्पतालका मेडिकल सुपरिटेन्टेन्ट डा. राजेन्द्र बस्याल, औषधि व्यवसायी संघका खड्ग बहादुर बस्नेत, निजी अस्पताल एसोसिएसनका प्रतिनिधि रामप्रसाद खरेल लगायतले उपमहानगरपालिकाको ‘बाआमासँग नगरप्रमुख कार्यक्रम’को अवधारणा उपयुक्त र प्रभावकारी रहेकोले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

उपमहानगरका १९ वटै वडामा सञ्चालन हुने यस कार्यक्रमका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा.नन्दु पाठक, स्त्री रोग विशेषज्ञ डा.राजेन्द्र बस्याल, फिजिसियन डा.हरि पन्थी, विशेषज्ञ चिकित्सकहरु, मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गर्ने जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो । 

अभियानका क्रममा प्रयोगशालामा गरिने आवश्यक परीक्षण र औषधिहरु समेत निशुल्क दिइने उहाँको भनाई छ । 


प्रतिक्रिया