सुदूरपश्चिममा नेकपा एसको कदमपछि सत्तागठबन्धनमा हलचल

वैशाख ३, २०८१ | काठमाडौं

नेपाली काँग्रेससहितको गठबन्धन भत्किएर नयाँ सत्ता समीकरण बनेको एक महिना पुरा भएको केही दिनपछि सत्ता गठबन्धनमा अर्को विवाद शुरु भएको छ । सत्तारुढ एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि काँग्रेससहितको गठबन्धनमा सहभागी हुँदै नागरिक उन्मुक्ति पार्टीका सांसदलाई समर्थन जनाएपछि गठबन्धनमा विवाद भएको हो । विकसित घटनाक्रमसँगै नेताहरुको अभिव्यक्ति हेर्दा सत्ता गठबन्धन सङ्कटतर्फ उन्मुख हुने सशंय प्रकट हुन थालेका छन् ।

सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउने बिषयमा एकीकृत समाजवादीले केन्द्रीय गठबन्धन भन्दा विपरित कित्तामा सहभागी भएपछि सत्तासमीकरणमाथि आशङ्का बढाएको देखिन्छ । एकीकृत समाजवादीको कदममाथि प्रश्न उठाउँदै सत्तारुढ एमालेका अध्यक्ष केपी ओलीले सुदूरपश्चिम प्रदेश सरकार गठनको विषयमा सो पार्टीले अराजनीतिक कदम चालेको टिप्पणी गरेका छन् । पार्टीको संसदीय दलको बैठकमा बोल्दै ओलीले नागरिक उन्मुक्ति पार्टीका सांसदलाई मुख्यमन्त्रीमा समर्थन गरेर एकीकृत समाजवादीले गठबन्धनलाई अप्ठ्यारो पार्न खोजेको बताए ।

सुदूरपश्चिम सरकारको नेतृत्व आफूहरुले पाउनुपर्ने दावी गरिरहेको एकीकृत समाजवादी एसले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेपछि गठबन्धनलाई झस्काएको छ । गत महिना केन्द्रीय गठबन्धनमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी सहभागी भएपछि वामपन्थी एकतातर्फ उनीहरु जान सक्ने अपेक्षा गरिएको थियो । तर एकीकृत समाजवादीको पछिल्लो निर्णयबाट रुष्ट भएका ओलीले वामपन्थी एकताका नाममा मुलुक अघि बढ्न नसक्ने समेत बताए ।

एमाले अध्यक्ष ओलीको अभिव्यक्तिले गठबन्धनभित्र समस्या बढाएको र एकीकृत समाजवादीसँग दुरी बढ्न सक्ने संकेत देखिएका छन् । यता, शीर्ष नेतासँग भएको सहमति अनुसार अघि बढ्नुपर्ने  पार्टीका उपमहासचिव प्रकाश ज्वालाको भनाइ छ ।

सुदूरपश्चिममा उत्पन्न विवादको प्रत्यक्ष असर केन्द्रीय गठबन्धनमा पर्ने निश्चित छ । एमाले– माओवादीसहितका दलले नागरिक उन्मुक्तिकै अर्का नेता कैलाश चौधरीलाई समर्थन गरेका छन् । दुई सांसदले मुख्यमन्त्रीमा दावी गरेकाले प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरिसकेका छैनन् । यस्तो अवस्थामा दलहरु कसरी अघि बढ्छन् भन्ने चासो देखिएको छ । एकीकृत समाजवादीका उपमहासचिव ज्वालाले सहमति लागू भएपछि सुदूरपश्चिममा देखिएको किचलो समेत सुल्झिने बताए ।

एकीकृत समाजवादीले वर्तमान सत्ता गठबन्धनमा सामेल भएपछि सुरुदेखि नै सम्मानजनक हैसियत हुनुपर्ने बताउँदै आएको छ । १० सिट भएको एकीकृत समाजवादीले चाल्ने कदमले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको भविष्य निर्धारण गर्ने भएकाले अहिले देखिएको विवाद मिल्न नसक्दा गठबन्धन सङ्कटतर्फ उन्मुख हुन सक्ने विश्लेषण भएका छन् ।


प्रतिक्रिया