सुदुरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्न पुनः आव्हान

वैशाख ४, २०८१

सुदुरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दावी पेश गर्न पुनः आव्हान गर्नु भएको छ । दुई दिनको समय दिएर दावी पेश गर्न १६८ (२) अनुसार नै पुनः आव्हान गर्नु भएको हो । यसअघि दश दिनको म्याद दिएर १६८ (२) अनुसार नै प्रदेश सभा सदस्यलाई आइतबारभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आव्हान गर्नु भएको थियो । त्यस अनुसार नागरिक उन्मुक्तिका दुई जना लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले बेग्लाबेग्लै समर्थक जुुटाएर दावी पेश गरेका थिए । 

आइतबार एउटै पार्टीबाट दुुई जनाको दावी पेश भएपछि प्रदेश प्रमुख मियाँले दावी पेश कर्ताहरुलाई कानुनी परामर्श गर्ने भन्दै दुुई दिनको समय लाग्ने भन्दै दुुबै दावीलाई आजसम्म थाती राख्नु भएको थियो । पुनः आव्हान गर्दा एउटै दलका दुुई जनाको दावी पेश हुन आएकोले निस्कर्षमा पुुग्न नसकिएको प्रदेश प्रमुख कार्यालयद्धारा जारी विज्ञप्तीमा बैशाख ६ गते बेलुका ५ बजेभित्र दावी पेश गर्न भनिएको छ । एकीकृत समाजवादी, कांग्रेस र राप्रपाको समर्थन जुटाएर मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्षधर प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले बहुमत सांसदको समर्थन रहेको दावीसहित दावी पेश गर्नु भएको थियो । अर्कोतिर एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसद सहित नागरिक उन्मुक्तिकै रञ्जिता श्रेष्ठ पक्षधर सांसद कैलाश चौधरीले पनि दावी पेश गर्नु भएको थियो ।

एकीकृत समाजवादीले सुुदूरपश्चिममा चालेको बिद्रोही कदमले केन्द्रिय सत्ता गठबन्धनमै हलचल आएको थियो । त्यसपछि सत्तारुढ दलका शीर्ष नेताहरुबीच आज सुदूूरपश्चिममा एकीकृत समाजवादीलाई मुुख्यमन्त्री दिन सहमत भएपछि एकीकृत समाजवादीले चौधरीका लागि गरेको समर्थनबाट पछि हटेको हो ।

आफ्नो दललाई मुख्यमन्त्री दिन सत्तारुढ दलका शीर्ष नेताहरु सहमत भएपछि आज एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले आइतबार लक्ष्मण किशोर चौधरीलाई दिइएको समर्थन फिर्ता लिइएको पत्र प्रदेश प्रमुखसमक्ष पेश गर्नु भएको थियो ।

एउटै दलका दुुई जनाको दावी आएपछि अनिर्णित रहेका प्रदेश प्रमुख मियाँले पुनः दावी पेश गर्न आव्हान गर्नु भएको हो । पुनः आव्हान भएको अवस्थामा अब केन्द्रिय सत्ता गठबन्धन अनुसार एमाले, माओवादी, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदको समर्थनमा एकीकृत समाजवादीले मुख्यमन्त्रीमा दावी पेश गर्ने भएको छ । पुनः दावी पेश गर्न आव्हान भएपछि कांग्रेस र नागरिक उन्मुक्ति भने रुष्ट भएका छन् । मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले कानुुनी उपचार तथा अन्य वैकल्पिक कदम चाल्ने बताउनुभयो ।  


प्रतिक्रिया