देवघाटमा मकर स्नान गर्नेहरुको मध्यरातदेखि नै घुइँचो (तस्बिरहरु)

माघ १, २०८० | चितवन

त्रिशूली र कालीगण्डकी मिसिएको स्थानमा मकर स्नान गर्न भनेर मकवानपुरको बकैया हात्तीसुढेकी शर्मिला लोप्चन दुई वर्षको छोरा काखमा लिएरै आफन्तहरुसँग देवघाट आइन् । अघिल्लो साँझ नै आएका शर्मिलाको समूह सोमबार बिहान झिसमिसेमै देवघाटको दुई नदी संगमस्थल तर्फ लागे । तर, उनीहरु त्यहाँ पुग्नै सकेनन् । ५० मिटर वरै नुहाउने मन बनाए ।

संगमभन्दा अलि वरै नुहाएर धुप आरती गर्दै थिए मकवानपुर बुढीचौरका जुलाबसिंह थिङ । उनी पनि श्रीमती, भाञ्जी, नाति, नातिना सहित मकर स्नानका लागि आएका थिए । पर्वत मोदी गाउँपालिका–५ बाजुङबाट आएका १५ जना जसो तसो गरेर संगमस्थलमै पुगेर डुबुल्की लगाए । ‘हामी २० दिनअघि निस्केका हौं । गया काँशी पुगेर फर्कदा अन्तिममा यहाँ स्नान गर्ने योजना थियो । त्यसैले बेणीमै नुहायौं’ यमप्रसाद शर्मा आचार्यले भने ।

माघे संक्रान्तिको दिन सोमबार सबेरै पाँच बज्दै गर्दा त्रिशूली र कालीगण्डकीको संगमस्थल जाने बाटो छिचोल्न गाह्रो थियो । त्यसैले कोही अलि वरै नुहाइ रहेका थिए, कोही चितवन तर्फ नै डुबुल्की लगाइ रहेका थिए ।

दुई नदीकै संगमस्थलमा नुहाउने धोको पूरा गर्नेहरु पनि ठेलमठेलबीच अगाडि बढ्दै थिए । माघ १ मा देवघाटमा मकर स्नानका लागि देशका हिन्दू र बौद्ध मात्रै नभएर सिमावर्ती भारतीय गाउँबाट समेत आउने चलन छ । हिन्दूहरु त्रिशूली र कालीगण्डकी नदीलाई पवित्र नदी मान्दछन् । 

कालीगण्डकी नदीमा शालिग्राम पनि पाइने भएका कारण यो नदीको विशेष धार्मिक महत्व छ । माघे संक्रान्तिमा सवै देवताहरु देवघाटमा स्नान गर्न आउँछन् भन्ने धार्मिक कथनका कारणले पनि यहाँ मकरस्नान गर्नेहरुको परापूर्व कालदेखि नै ठूलो भीड लाग्ने गरेको देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष शिवराज पौडेलले बताउनुभयो ।


प्रतिक्रिया